धरान/ कुलुङ अलग्गै जाति नभई राई भित्रकै एक थर रहेको किरात कुलुङ राई भाषा संस्कृति उत्थान सङ्घको दोस्रो राष्टिूय महाधिवेशनका क्रममा स्पष्ट पारिएको छ ।

धरानमा आइतबार सम्पन्न महाधिवेशनले ११ बुँदे धरान घोषणा पत्र जारी गर्नेक्रममा कुलुङ राई भित्रकै कुलुङ भाषी राई रहेको जनाइएको हो । कुलुङ छुट्टै जाति रहेको भन्ने मतभेद अहिले पनि कुलुङभित्र रहेको छ ।

तर, सङ्घको राष्ट्रिय अधिवेशनका क्रममा यसलाई चीर्ने प्रयास गरिएको सङ्घका उपाध्यक्ष दोर्पध्वज राईले बताए । धरान घोषणा-पत्रमा प्रदेश १ लाई किरात प्रदेश नामाकरण गरिनुपर्ने माग गरेको छ । त्यस्तै कुलुङ राईहरूको उद्गम भूमी सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको सरकारी कामकाजीको भाषा कुलुङ भाषालाई व्यवहारमा प्रयोग गर्न माग गरेको छ ।

त्यस्तै संसारभरी छरिएर रहेका सम्पूर्ण कुलुङ राईहरू सङ्गठित हुन आह्वान गरेको छ । सबै पाछाका कुलुङ राईहरूलाई आफ्नो मौलिक भाषा संस्कार, संस्कृति, रीति रिजावलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नसमेत आह्वान गरेको छ ।

आगमी २०७८ मा हुने राष्टिूय जनगणनामा जातिको महलमा कुलुङ राई र धर्मको महलमा किरात लेख्न सबै कुलुङहरूलाई अपील गरेको छ । जननायक सहीद रामप्रसाद राईलाई राजनैतिक परिवर्तनको आन्दोलनमा उनको योगदानको उच्च मूल्याङ्कन गर्दै अविलम्ब राष्टिूय विभूति घोषणा गर्न माग गरेको छ ।

दोस्रो राष्टिूय महाधिवेशनले सङ्घको नाम परिवर्तन गर्दै किरात कुलुङ राई सङ्घ नामाकरण गरेको छ । महाधिवेशनले मकरध्वज कुलुङ राईको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा दोर्पध्वज राई, महासचिवमा डिल्लीबहादुर राई, सचिवद्वयमा चन्द्रप्रसाद राई, र करसिंह राई साथै कोषाध्यक्षमा आशबहादुर राई रहेका छन् ।

त्यस्तै सदस्यहरूमा जङ्गवीर राई, बुद्धिबहादुर राई, शुभद्रा राई, निलकमल राई, फुलमाया राई, र भरत राई रहेका छन् ।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किरायाका केन्द्रीय सल्लाहकार मणिकुमार राईले सङ्घलाई आर्थिह सहयोगसमेत गरेको उपाध्यक्ष दोर्पध्वजले जानकारी दिए । महाधिवेशन माघ १२ र १३ गते धरानमा सम्पन्न भएको हो ।