बेलबारी/ मोरङको सुन्दरहरैंचा १ कुमारगाउँ निवासी चुडामणी ढकालको ११ वर्षिय छोरी लक्ष्मी ढकालको सोमवार विहान पाउने नौबजेतिर ट्रिपरको ठक्करले मृत्यु भएपछि विराटचोक दिनभर तनावग्रस्त बन्यो ।

सुन्दरहरैंचा ११ स्थित आफ्ना काका लेखनाथ ढकालको घरमा बस्दै आएकी बालिका सडकपारी पट्टी रहेको दोकानमा सामान किन्न गएको अवस्थामा उनलाई टिफरले ठक्कर दिएको थियो । ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिएपछि वालिकाको घटना स्थलमै मृत्यु भएको थियो ।

स्थानीय ईन्द्रपुर बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत वालिका चटपटे बनाउने सामान किन्न गएको परिवारलाई उध्रित गर्दै स्थानीयले बताएका छन् । मृतक वालिकाका बाबु चुडामणी ढकाल पनि यसअघि सडक दुर्घटनामै परेर खुट्टामा चोटको थियो । उनको उपचारको लागि अस्पताल जान लागेको बेला दुर्घटना भएको थियो ।

दुर्घटना पश्चात फरार टिपर बेलेपुर बजार स्थित सडकको रुखमा ठोक्किएको थियो । स्थानीयहरुले टिपरलाई सोही स्थानमा जलाएका थिए । चालक भने फरार भएको स्थानीयहरुले बताएका छन् । दुर्घटना पश्चात आक्रोशित स्थानीय बासिन्दाहरुले ७ वटा टिफर जलाएका थिए । घटना स्थलमा आएका वारुण यन्त्रलाई समेत स्थानीय वासिन्दाहरुले फर्काएका थिए ।

घटना स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रशासनले घटना स्थल आसपास निशेधाज्ञा जारी गरेता पनि आक्रोशित स्थानीय वासिन्दाहरुले शव साँझ ६ बजे सम्म उठाउन दिएका थिएनन् । स्थानीय वासिन्दाहरु संगको वार्ता पश्चात मात्र साँझ सवा ६ बजे शब उठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

वार्तामा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने ,दुर्घटनामा परेका परिवारलाई क्षतिपूर्ति दिने र विराटचोक विराटनगर सडक खण्डमा तत्काल टिपर आवत जावत गर्न नदिने सहमति पश्चात शबलाई उठाईएको मोरङ प्रहरीले जनाएको छ ।

करिब डेढवर्ष अगाडि पनि यसै सडक खण्डमा टिपरले एक जना टिउसन पढेर आउदै गरेको बालकलाई ठक्कर दिंदा वालकको मृत्यु भएको थियो । बालकको मृत्यु पश्चात स्थानीय वासिन्दाहरुले टिपरलाई निश्चित समयमा भन्दा बाहिर आवतजावतमा रोक लगाएको थियो । विशेष गरेर विद्यालय आउने जाने समयमा सो क्षेत्रमा टिपर आवतजावत गर्न रोक लगाईएको थियो ।