बेलबारी/ मोरङको केराबारी गाउँपालिका–९ स्थित खयरघारीमा क्रसर उद्योग स्थापनाका लागि दर्ता प्रक्रिया शुरु गरेपछि त्यसको विपक्षमा स्थानीयबासीले हस्ताक्षर सङ्कलन गरिरहेका छन् । 

केराबारी–९ को वडा कार्यालयमा घरेलु तथा साना उद्योग विराटनगरले क्रसर राख्न उपयुक्त रहे/नरहेको विषयमा पत्राचार गरेपछि स्थानीयले हस्ताक्षर सङ्कलन थालेका हुन् । घरेलु तथा साना उद्योगले वडा कार्यालयलाई माघ ३ गते सर्जमिन गर्न पत्राचार गरेको छ ।

केराबारी ९ खयरघारी निवासी गणेशबहादुर थापाको जग्गामा लोहोन्द्रा क्रसर उद्योग खोल्न लागिएको हो । क्रसर स्थापनाका गर्ने विषयमा स्थानीयबीच नै मतमतान्तर रहेको छ ।

क्रसर राख्दा वातावरणीय हिसावले उपयुक्त नहुने र नजिकै जङ्गलसमेत रहेको हुँदा मापदण्ड नपुग्ने स्थानीयबासीको भनाइ छ । उद्योगले पत्राचार गरेपछि वडा कार्यालयले माघ १८ गतेका लागि स्थानीयको भेला बोलाएको छ ।

भेला हुनुपूर्वनै स्वत स्फुर्तरूपमा हस्ताक्षर सङ्कलन भइरहेको पूर्ववडाध्यक्ष सनबहादुर बस्नेतले बताए । क्रसर स्थापनाका लागि वडामा यसअघि दुईपटक सर्जमिन गर्ने भनिए पनि हुन सकेको थिएन ।

गतवर्ष पनि भलुवा खोलामा क्रसर स्थापना गर्न लागेको सुईको पाएपछि स्थानीयबासीले केराबारी गाउँपालिकामा लिखित निवेदन गर्दै दर्ता प्रक्रियामा अवरोध पुर्याएका थिए ।