धनकुटा/ दक्षिण एशियाली सार्क स्तरिय सितेरियो कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता दुई खेलाडीलाई धनकुटामा सोमवार भव्य सम्मान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति धनकुटाले जनवरी १९ र २० गते भारतको गुहाटीमा सम्पन्न सार्क स्तरिय सितेरियो कराँते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल धनकुटाकी सुदिक्क्षा श्रेष्ठ र श्रृजना थापालाई सम्मान गरिएको हो ।
उनीहरुले सार्क अन्तरर्गतका ६ देशका खेलाडीलाई पछि पार्दै कराँतेमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
ओखलढुङ्गा जिल्लाको थापाचौर घर भएका सुदिक्क्षा हाल तुलसी मेयर वार्डिङ्ग स्कुलमा कक्षा-९ अध्ययनरत छिन् । कक्षा-७ अध्ययन गर्दा गर्दै वुवा देव श्रेष्ठ र आमा सीता लिम्बूको प्रेरणाले कराँते खेल्न सिकेको सुदिक्क्षाले बताईन् । अहिले उनी १२ वर्षकी भएकी छिन् । उनी हाल धनकुटा-७ हुलाकटोलमा बस्छिन् ।
त्यसैगरी पाख्रीबास नगरपालिका वडा नं.७ मुगा घर भएका श्रृजना थापा हाल धनकुटा-७ मा रहेको त्रिवेणी माध्यामिक विद्यालयमा कक्षा-१२ मा आइटी विषयले लिएर अध्ययनरत रहेकी छिन् ।
श्रृजना उनी आफै कराँते रुची राखेर भन्दा पनि बुवा शंकर थापा र आमा ऐन्जिला थापाको प्रेरणाले कराँते सिकेको बताईन् । उनी पनि कक्षा-७ मा पढ्दा पढ्दै कराँते सिकेको र व्यावसायकि रुपमा खेल्न थालेको भने ५ वर्ष भएको बताईन् ।
अहिले उनी १५ वर्षकी भएकी छिन् । खेलाडीसंगै कराँतेका प्रशिक्षक डिप्लब राईलाई पनि सो अवसरमा भव्य सममान गरिएको थियो । उनीहरुलाई जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मनोज राई, एमाले नेता भीम राई, युवानेता अर्जुन राई लगायत स्थानिय कराँतेका खेलाडीहरुले अविर, माला, र खदा लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा खेलाडीका अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।
































