इटहरी/ इटहरीमा माघ २३ देखि इटहरी खाना महोत्सव हुने भएको छ । महोत्सव व्यवस्थापनका लागि आयोजक होटल व्यवसायी सङ्घ इटहरीले ‘क’ श्रेणीको इभेन्ट व्यवस्थापक गर्ने भएको छ ।
६० वटा स्टल रहने महोत्सवमा ३ तहको स्टल बनाएर खाना महोत्सवलाई आकर्षक बनाउने तयारी भएको आयोजक संस्थाका व्यवस्थापक सुनिल भुसालले बताए । जसमा होटल रेस्टुरेण्टको स्टल स्टेजको अग्र भागमा रहने छ । त्यस्तै जातीय परिकारका स्टल छुट्टै रहने र अन्य खाद्य सम्बन्धी स्टल छुट्टै रहने भुसालले जानकारी दिए ।
महोत्सवमा बाँस र टेण्ट प्रयोग नगरी स्टल बनाउने योजना भइरहेको उनले बताए । भुसालका अनुसार यस पटकको महोत्सवमा भएको प्रयोगबाट प्रदेश १ को महोत्सवमा नयाँ अभ्यासको प्रारम्भको प्रयास हुनेछ ।
महोत्सवमा खाना पकाउनेहरू बीच प्रतिस्पर्धासमेत गराइने बताइएको छ । त्योसँगै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हेलिकोप्टरबाट टुरसमेत गराइने आयोजक समितिका अध्यक्ष तथा होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
खानाका परिकारबाहेक दैनिक सांस्कृतिक प्रस्तुति हुने, इटहरीसँगै प्रदेश १ का मुख्य पर्यटकीय क्षेत्रको प्रचार–प्रसार महोत्सवमा हुनेछ । महोत्सवमा कोशी टप्पुमा पाइने अर्ना र तीनजुरे, मिल्के जलजले क्षेत्रमा पाइने गुराँसको राजधानीको बिम्ब बोक्ने लालीगुराँसका प्रतिमा महोत्सवमा राखिनेछ ।
































