वराहक्षेत्र/ वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा आउँदो चैत महिनादेखि लाग्ने पिण्डेश्वर अर्ध कुम्भ महोत्सवको मूल समिति तथा उपसमित गठन गरिएको छ । नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको अध्यक्षतमा मूल समिति, स्टेरिङ समिति र उपसमिति गठन गरिएको हो ।

कुम्भ व्यवस्थापनका लागि १ हजार सदस्यीय मूल समिति गठन गरिएको छ भने वराहक्षेत्र नगरपालिका नगर प्रमुख निलम खनाल सहअध्यक्ष, उपप्रमुख कमला मगरसहितको ४ उपाध्यक्ष, महासचिवद्वय ओमकुमार शर्मा र प्रहलाद भट्टराई सचिवद्वय नारायण नेपाल र चन्द्र थापा मगरसहितको ३७ सदस्यीय स्टेरिङ कमिटि गठन गरिएको छ ।

यसैगरी यज्ञ मण्डप, कुटी निर्माण, खाद्यान, विद्युत, स्वास्थ्य, खानेपानी , यातायात, पण्डाल व्यवस्थापन समेत गरी २२ उपसमितिहरू गठन गरिएको स्टेरिङ समितिका सचिव नारायण नेपालले बताए ।

यस अघि अद्र्ध  कुम्भको तयारी ढिलो भइरहेकामा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले चिन्ता व्यक्त गरेका थिए । यता कुम्भ आयोजनाको सबैभन्दा ठूलो आर्थिक पाटोको कुरा अगाडि बढ्न सकेको छैन । पटकपटकको विवाद र बैठकपछिमात्र उपसमितिहरू गठन भएका हुन् ।

लाखौं भक्त र धार्मिक पर्यटक भित्रिने कुम्भको तयारी कम्तीमा ६ महिना अगाडिदेखि नै थालिनु पर्ने हुन्छ । स्थानीय स्तरबाटमात्र सम्भव नहुने हुँदा यसमा राज्य र केन्द्रको सहयोग महत्वपूर्ण हुन्छ ।  तर अझै सम्म मुख्यमन्त्री शेरधन राई र प्रधामन्त्री केपी ओलीसम्म कुम्भको आयोजनाबारे औपचारिक कुरा पुग्न नसकेको जगदगुरु बालसन्तको भनाइ छ ।

यस अघिको कुम्भ महोत्सवका लागि राज्यले १ करोड बजेट विनियोजन गरेको थियो । वराहक्षेत्रस्थित चतरामा प्रत्येक ६ वर्षमा अद्र्धकुम्भ महोत्सव र १२ वर्षमा पूर्णमहाकुम्भ महोत्सव हुँदै आएको छ ।