बिर्तामोड/ झापाको अर्जुनधारा नगरपालिकाका विभिन्न वडामा जङ्गली हात्तीले स्थानीयकोे झण्डै एक दर्जन घर भत्काएको छ ।

जङ्गली हात्तीले अर्जुनधारा–३, ४, ८ वडासहित बुद्धशान्ति गाँउपालिकाका दर्जनजति घर भत्काएको हो । स्थानीयले करिब २ घण्टा होहल्ला गरेपछि मात्रै हात्ती जङ्गलतर्फ भागेको थियो । हात्तीले अर्जुनधारा ८ का जमुना गड्तौला, राम लुइटेलको घर भत्काएको छ भने, नगर सदस्य सेवन्त ढकालकोे झ्यालको सिसा फुटाएको छ ।

यसैगरी, चेतनाथ बजगाई, पुन्य चापागाई र सरिता तामाङको घर पनि भत्काएको छ । बजगाईको घर भने बस्न नहुने गरी भत्काएको पीडितले बताए । हात्ती आएर घर भत्काउन थालेपछि खाटमुनी पसेर ज्यान जोगाएको बजगाईले बताए ।

यसैगरी अर्जुनधारा–३ का पञ्चमान राई, काजी रसाइली, हर्कबहादुर श्रेष्ठलगायतको घर पनि भत्काएको स्थानीय दिनेश शिवाकोटीले जानकारी दिए ।