बिर्तामोड/ नेपाली काङग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चर्चित वाइडबडी खरिद काण्डमा सभापति शेरबहादुर देउवाको संलग्नता देखिए कारवाही गर्न माग गरेका छन् ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा संलग्न जो कोही भएपनि कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

‘सभापति शेरबहादुर देउवाले वाइडबडी बिमान खरिदमा अनियमितता गर्नेलाई आफै कारवाहीको माग गर्नु भएको छ, नेता सिटौलाले भने-‘त्यति ठुलो भ्रष्टाचारमा संलग्न जो कोही भएपनि कारवाहीका लागि यति बलियो सरकारले खुट्टा कमाउनु हुँदैन ।’ बिमान खरिद काण्डको प्रभावकारी छानविन गरेर कारवाही गर्न उनले सरकारसमक्ष माग समेत गरेका छन् ।

बर्तमान सरकारको कमजोरिका कारण परिवर्तन नचाहने शक्तिले टाउको उठाउन शुरु गरेको सिटौलाले बताए । ‘हामी कम्युनिष्ट सरकारको कमजोरीका कारण नेपाली काङग्रेसले फाइदा होस भन्ने पक्षमा छैनौ, काङग्रेसभित्रबाट सरकारप्रति ‘सफ्ट लाइनर’ नेता सिटौलाले भने-‘तीनै तहमा यति बलियो सरकार निर्माण भएको छ, अपेक्षित काम गर्न के ले रोकेको छ, त्यो मैले पनि बुझ्न सकिन ।’ परिवर्तनलाई संस्थागत गर्न संघीय सरकारले बिभिन्न कानुनहरु नबनाउदा जताततै अराजकता मौलाएको आरोप सिटौलाले लगाए ।

‘सरकारको कमजोरीका कारण केही स्थानीय तहले प्राविधिक शिक्षाका नाममा शिक्षकहरु नियुक्ति गरेका छन, त्यो संवैधानिक अराजकता हो, सिटौलाले भने-‘शिक्षक नियुक्ति गर्दा लोकसेवा आयोगको परिधिभित्र रहेर गर्नुपर्छ भन्ने सरकारले बिर्सिएको छ ।’ पार्टीका कार्यकर्ता शिक्षक बनेर बिद्यालयमा आतंकित बनाएको आरोप सिटौलाले लगाए ।

सरकारले लोकसेवा आयोगले लिने लिखित परिक्षालाई प्रभावित बनाउने कानुन निर्माण गर्न लागेको भन्दै सिटौलाले आपत्ति प्रकट गरे । ‘पञ्चायतकालमा पनि लोकसेवा निश्पक्ष थियो, सिटौलाले भने-‘अहिले कम्युनिष्ट सरकारले आफु अनुकुल बनाउन खोजिरहेको देखिएको छ, यदि त्यसो भयो भने त्यो दुर्भाग्य हुनेछ ।’

सरकारले एकबर्षको अवधिलाई आत्मसमिक्षा गरेर अघि बढ्न सिटौलाले सुझाव दिए । ‘प्रधानमन्त्री ओलीलाई उहाँकै जिल्लाबाट भन्दैछु, आत्मसमिक्षा गरेर अघि बढ्नुहोस, सिटौलाले भने-‘फेसबुकमा सामान्य कमेन्ट गर्नेलाई जेल हालेर कस्तो अभि व्यक्ति स्वतन्त्रताको पक्षमा लाग्नु भएको हो ?’ सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न लागिपरेको आरोप उनले लगाए ।

अहिले सदनमा पेश भएको चिकित्सा शिक्षा बिधेयक पुर्व सहमति अनुसार पास गर्न सिटौलाले माग गरे । ‘केपीओलीजीले नै गर्नुभएको सहमति हो, अहिले त्यही सहमति अनुसार पास गर्न के ले रोकेको छ ? सिटौलाले भने-‘पुर्व सहमति पालना गरेर अनसनरत डा. गोविन्द केसीको जिवन रक्षा गर्न म सरकार समक्ष माग गर्दछु ।’

कांग्रेसले ‘संक्रमणकालिन प्रबन्ध’ का आधारमा संघीय ढाँचाको संगठन निर्माण गर्नुपर्ने सिटौलले बताए ।

‘नयाँ बिधान अनुसार अधिवेसन गर्ने हो भने संक्रमणकालिन प्रबन्धको आवश्यकता पर्दैन, सिटौलाले भने-‘सभापतिजीलाई पुरानो बिधान अनुसार आगामी दुइबर्षसम्म नेतृत्व गर्ने छुट छ, त्यो अनुसार गर्ने हो भने संक्रमणकालिन प्रबन्धका आधारमा संघीय संरचना अनुसारको संगठन निर्माण गर्नु अहिलेको आवश्यकता हो ।’

उनले नेपाली काङग्रेसले सदन र सडकबाट बृहत जनजागरण अभियान शुरु गर्ने जानकारी दिए ।