इटहरी/ माघे सक्रान्तीका लागी इटहरीका तरकारी तथा फलफूल बजारमा तरुल व्यापारको चटारो लागेको छ । विभिन्न थरीका तरुल अहिले बजारमा बिक्रीवितरण भइरहेको छ ।

पुर्वी पहाडी जिल्लाबाट इटहरी आएका तरुलसँगै बजारमा सखरखण्ड, स्कुसको जरा, पिँडालु बेच्न व्यापारीहरुलाई भ्याईनभ्याई छ । बिक्रेताका अनुसार घर तरुल सस्तो र सुलभ भएकाले पनि यसप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेका छन् । सिमल तरुलले शरीरको सर्दीको मात्रालाई थप बढाउने हुँदा यसप्रति उपभोक्ताको रुचि कम देखिएको मानिन्छ ।

पूर्वी पहाडी जिल्लाका वनमा पाइने वन तरुल नितान्त अर्गानिक मात्र नभई सुलभ रुपमा बजारमा नपाइने हुँदा यसको बजार भाउ अकासिएको छ । वन तरुल खोज्ने, खन्ने, संकलन गर्ने कार्य निकै कठिन हुन्छ ।

संकलक, विविध थरिका बिचौलिया हुँदै बजारमा बिक्रेताकहाँ आइपुग्दा होलसेल भाउमा पनि वन तरुलको भाउ बढेको बताउँछन इटहरीका ब्यापारी घरेन्द्र दाहाल ।

उनी भन्छन सहरमा हुनेखाने वर्गले मूल्य प्रवाह नगरी स्वास्थ्यकै लागि पनि वन तरुल किन्ने गरेको पाइन्छ । यसपाली पनि अघिल्लो वर्षकै मुल्यमा तरुल बिक्रि भईरहेको छ उनी भन्छन् ।

व्यापारी निर्मला कोईरालाले बजार खुम्चदै गएको कारण अघिल्लो वर्ष जस्तो धेरे बिक्रि नभएको बताईन् । सबै व्यापारीको उत्साहजनक व्यापार भएको छैन उनी भन्छिन् ।

यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ । उनले भनिन् पहिलको जस्तो तरुलको माग यो वर्ष भएन उनी भन्छिन् । माघे संक्रान्तिका सोचे जस्तो बिक्रि नभएको उनको भनाई छ ।

सखरखण्ड प्रतिकेजी ६० रुपैयाँ,स्कुसको जरा १ सय ४० रुपैया, घर तरुल १ सय रुपैया, सिमल तरुल ५० रुपैया र पिडालु ८० रुपैयाले बिक्रि गर्ने गरेको उनको भनाई थियो ।

हरेक वर्ष पुस महिनामा सबैभन्दा बढि तरुल विक्री हुने गर्दछ । माघे संक्रान्तिलाई तरुलको संक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको बिक्री अत्याधिक हुने गरेको हो ।

माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुन पर्ने हो तर यो वर्ष अत्याधिक बिक्रि भएन इटहरीको तरकारी तथा फलफुल बजारका व्यापारी पवित्रा आर्चाय बताउँछिन् ।

पोहोरको वर्ष भन्दा यो वर्ष थोरै व्यापार भयो खै व्यापार नै राम्रो भएन उनी भन्छिन । पुस मसान्तमा धेरै बिक्रि हुन्थ्यो आज त बिक्रि नै भएको छै खै के अचम्म भयो उनी गुनासो गदै भनिन् ।

यता तरुल किन्न आएकी उपभोक्ता लक्ष्मी सापकोटाले भने बजार महंगो भएको बताईन् । उनले अघिल्लो वर्ष भन्दा बजार महंगो भएको गुनासो गरीन् ।

बजारमा महंगो भएको महसुस भयो उनी भन्छिन् माटो मुनि फलेका बालीको रुपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लयु पनि खाने प्रचलन छ महंगो भए पनि किन्नै पर्यो नी उनले भनिन् ।

त्यस्तै अर्का उपभोक्ता दिपक गिरीले पनि तरुलहरु महंगो भएको गुनासो गरे । उनले भने खै मलाई त अघिल्लो वर्ष भन्दा तरुल महंगो भए जस्तो लाग्यो ।

माघे संक्रान्तीको महत्व
हाम्रा धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकता अनुसार पनि निर्धारण गरिएको हुन्छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे सक्रान्तिमा खाइने तरुल, सखरखण्ड, घिउ चाकु लयु उपयोगी छ।

क्वाँटी खाने पर्व जनैपूर्णिमादेखि मौसम विस्तारै चिसो हुदै जान्छ। भदौपछि सुरु हुने चिसो मौसम पुस माघमा उत्कर्षमा पुग्छ। माघको एक गते अर्थात माघे सक्रान्तिको दिन धेरै जाडो हुन्छ। जाडोको बेलामा शरीरमा ’मोटाबोलिजम’ धेरै हुन्छ अर्थात खानेकुरा धेरै पच्ने र खाना रुच्ने हुन्छ।

तिलको लयु, तरुल, चाकु, सखरखण्ड जस्ता खाने कुराले शरीरलाई आवश्यक शक्ति दिन्छ र रोगसँग लड्ने शक्ति समेत प्रदान गर्छ। तिल ल्याटिन अमेरिका र अफ्रिकाका देशहरुमा तिललाई प्रमुख खानेकुराको रुपमा प्रयोग गरिन्छ।

हाम्रो देशमा भने तिललाई धार्मिक रुपमा पनि पवित्र अन्नको रुपमा लिइन्छ । यस्तै माघे सक्रान्तिमा मासको दाल, घिउ र चामल मिसाई पकाइएको खिचडी खाने चलन छ।

खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग सन्चो हुन्छ।