पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरभित्रका द्वन्द्वपीडितहरुले नगरपालिका कार्यालयसँग जिविकोपार्जनमा सघाउ पुग्ने योजनाको माग गरेका छन् । द्वन्द्वपीडित परिवार साझा चौतारी नामक गैर सरकारी संस्थाको तर्फबाट अध्यक्ष रीता गिरीको अगुवाईमा द्वन्द्वपीडितहरुले नगरपालिका प्रमुख दिलिपकुमार राईलाई त्यस खाले कार्ययोजना अघि बढाउन मागपत्र पेश गरेका छन् ।
चौतारीले तात्कालिन माओवादी र सरकार पक्षको द्वन्द्वमा पीडित बनेकाहरुको यकिन तथ्याङक संकलन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी सहित जिविकोपार्जनका लागि सघाउने कार्यक्रम बनाउनु पर्ने कुरामा जोड दिएको उल्लेख छ । ‘राजनीतिक परिवर्तनमा भूमिका निर्वाह गर्ने त्यस्ता व्यक्तिका परिवारको पुनउत्थान, पुर्नस्थापना तथा औसत भन्दा कमजोर आर्थिक व्यवस्थापनमा बाँचेकाहरुलाई विशेष कार्यक्रम ल्याउनु पर्दछ ।’– मागपत्रमा उल्लेख छ । उल्लेख्य संख्यामा रहेका द्वन्द्वपीडितहरुको तथ्याङक संकलन गरी उनीहरुको भोगाईको अवस्था चित्रण गर्ने बृत्तचित्र तयार गर्ने कार्यमा नगरपालिकाले सघाउनु पर्ने मागसमेत गरिएको छ । मागपत्र बुझिसकेपछि नगर प्रमुख राईले नगरपालिकाले वडा वडामार्फत द्वन्द्वपीडितहरुको तथ्याङक संकलन कार्य अघि बढाएर कार्यक्रम तय गरिने वताए ।