यासोक/ तमोर करिडोर सडक खण्डमा काम गर्ने निर्माण कम्पनीलाई योजनाको काम रोक्न सव डिविजन वन कार्यालयले निर्देशन दिएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिका–३ रानिगाउँमा तमोर करिडोरमा सडकको काम गर्दै आएको निर्माण कम्पनीलाई तत्काल योजनाको स्थगित गर्न निर्देशन दिएको हो ।

सडकको काम गर्दै आएको बिरुवा कन्सट्रक्सन प्रालि काठमाडौंले सामुदायिक वन क्षेत्रमा काम गरेको भन्दै डिविजन कार्यालय यासोकले निर्माण कम्पनीको नाममा पत्र काटेको छ ।

सामुदायिक वन क्षेत्रमा भौतिक संरचनाको निर्माण गर्दा प्रक्रिया पुर्याएर मात्रै काम गर्नुपर्ने डिभिजन कार्यालयका प्रमुख ऋषिराज पराजुलीले बताए । निर्माण कम्पनीले सामुदायिक वन क्षेत्रमा प्रक्रिया नपुर्याई सडक निर्माण गरेको सूचनाको आधारमा वन कार्यालयले उक्त क्षेत्रमा अनुगमन गरेको थियो ।

निर्माण कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गरेको भेटेपछि तत्काल प्रक्रिया पुर्याएर सडक निर्माण गर्न निर्देशन दिएको पराजुलीले बताए ।

गाउँपालिकाको अतिकेथा सामुदायिक वन क्षेत्रमा सडक निर्माणको काम बिरुवा कन्स्ट्रक्सनले गर्दै आएको छ । तर सामुदायिक वन क्षेत्रमा भने योजनाको काम स्थगित भएको हो ।

सामुदायिक वन क्षेत्रमा भौतिक संरचनाको निर्माण गर्दा वातावरणीय पर्यावरणलाई असर पुर्याउने र वन क्षेत्रसमेत नष्ट हुने भन्दै स्थानीयले चासो दिनुपर्ने बताएको छ ।

कुम्मायक गाउँपालिकामा १९ वटा सामुदायिक वनहरू रहेका छन् । वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा स्थानीय तहले प्रक्रिया पुर्याउनु पर्ने हुन्छ ।