उदयपुर/ उदयपुरको चौदण्डीगढीको ऐतिहसिक स्थल चौदण्डीगढी दरबारको सरसफाइ गरिएको छ । सरसफाइसँगै पहिलो पटक नेपाली सेनाले झण्डोत्तोलन गरेको छ ।
चौदण्डिगढी नगरपालिका वडा नं १ मा अवस्थित ऐतिहासिक गढीको संरक्षण तथा प्रवद्र्धनका लागि सरसफाइका साथै नेपाली सेनाले पहिलो पटक झण्डोत्तोलन गरेको हो ।
राष्ट्रको गौरवसँग जोडिएका विभिन्न ऐतिहासिक स्थलको संरक्षणमा चासो राख्दै सदरमुकाम गाईघाट बोक्सेस्थित रणशार्दूल गणका गणपति भैरवबहादुर थापाको नेतृत्वमा नेपाली सेनाले गढीको सरसफाइपछि चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईद्वारा राष्ट्रिय झण्डात्तोलन गराइएको नगरपालिकाले जनाएको छ ।
उक्त स्थान ऐतिहासिक महत्वको कारण नगरपालिकाको नाम सोही गढीको नामबाट राखिएको छ भने प्रशस्त पर्यटकीय महत्व रहेकाले नगरपालिकाले विकास र संरक्षणमा विशेष प्राथमिकतामा राखेको मेयर राईले बताए ।
बाइसे–चौबिसे राज्यमध्यको एक चौदण्डीगढीमा सेनवंशी ४ जना राजाले ४० वर्ष शासन गरेको इतिहासमा पाउन सकिन्छ ।
विक्रम् सम्वत् १७९० मा पहिलो राजा जगत्सेनले तथा अन्तिम राजा कर्णसेनले शासन गरेको र पछि पृथ्वीनारायण शाहको एकीकरण अभियानको क्रममा चौदण्डीगढीमा आक्रमण गरी नेपाल राज्यमा गाभेको इतिहास छ ।
उक्त ठाउँमा अहिले दरबार र गढीको भग्नावशेषमात्र रहेका छन् । ढुङ्गाको पर्खालले घेरेर बनाइएको गढी आकर्षणको केन्द्र हो । त्यहाँको प्रमुख आकर्षण ढुङ्गाको गण रहेको छ । त्यहाँ पुरातात्विक महत्वका विभिन्न आकृतिका ढुङ्गा, पुराना इटाहरू रहेका छन् ।
विगतमा संरक्षणको अभावले गर्दा गढीको महत्वपूर्ण मूर्ति, शिलालेख लगायतका पुरातात्विक महत्वका वस्तुहरू हराएको स्थानीय बताउँछन् ।
राष्ट्रिय एकता दिवसको अवसर पारेर गरिएको कार्यक्रमबाट स्थानीयमा संरक्षणको चासो बढेको छ । उक्त ठाउँको संरक्षण र विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने स्थानीय जागिरमान राईले बताए ।
विशेषगरी खानेपानी, सडकको स्तरोन्नति लगायतका पूर्वाधारमा जोड दिनुपर्ने राई बताउँछन् ।
रमणीय र स्वच्छ वातावरणका साथ उच्च ठाउँमा रहेको चौदण्डीगढीले पर्यटकको मन सजिलै तान्न सक्ने भए पनि संरक्षण र प्रवद्र्धन नभएका काराण पछि परेको छ । उक्त गढीबाट तराईका समथर फाँटदेखि हिमाली तथा पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ ।
यस ठाउँको संरक्षण र प्रवद्र्धन हुनसके स्थानीय स्तरको आर्थिक उन्नति र प्रगति हुनेमा दुई मत नभएको स्थानीय बताउँछन् । स्थानीय सरकारले विशेषगरी ध्यान दिनु पर्ने उनीहरूको जोड छ ।
पर्यटक भित्र्याउन विकासको पूर्वाधार अति–आवश्यक भएकाले त्यसलाई मध्यनजर गरी विकास गर्नुपर्ने स्थानीय बताउँछन् ।
































