बेलबारी/ मोरङको केराबारी गाउँपालिकामा शुक्रबार ऐतिहासिक मच्छिन्द्र मेलाको उद्घाटन भएको छ । यस वर्ष केराबारी गाउँपालिका मेलामय भएको छ ।

पुस महिनामा मात्र केराबारीमा चारवटा मेला लागेका छन् । केराबारी गाउँपालिका वडा नं. ६ मा कालापानीमा लागेको कालोपानी महोत्सव सकिएको केही दिनमै मच्छिन्द्र मेलाको शुरु भएको हो ।

कालोपानी मेला पुस १७ गतेका दिन उद्घाटन भई २३ गते समापन भएको थियो । परम्परागत रूपमा लाग्दै आएको मेला २५ वर्षपछि लाग्न थालेको हो ।

महोत्सवको अवसरमा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो भने कलाकारले साङ्गीतिक मनोरञ्जन प्रस्तुत गरेका थिए । त्यसैगरी पुस ७ गते केराबारी गाउँपालिका वडा नं. २ स्थित सिंहदेवीमा चासोक तङ्नाम (मङ्सिरे पूर्णे) मेला लागेको थियो ।

किराती समुदायको महान पर्वको अवसरमा लाग्ने मेलामा साङ्गीतिक कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको थियो । त्यसैगरी केराबारी गाउँपालिका वडा नं. ९ मा ल्होसार मेला लागेको थियो ।

प्रत्येक पुस १५ गते पर्ने तमुहरूको महान पर्वका अवसरमा केराबारी–९ को बेलचौरीमा वर्षेनी मेला लाग्दै आएको छ । यसपटक मेलामा अन्तर जिल्लास्तरीय फुटबल प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।

केराबारी गाउँपालिकाभित्र एक महिनामा चारवटा मेला मध्य तीनवटा मेलाको उद्घाटन गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले गरेका थिए । सिंहदेवीमा लागेको मङ्सिरे पूर्णे (चासोक तङ्नाम) मेलाको वडाध्यक्ष प्रेम लिम्बूले उद्घाटन गरेका थिए ।

शुक्रबारदेखि शुरु भएको मच्छिन्द्र मेला परापूर्वकालमा खदम खोलामा लाग्दै आएको थियो । धार्मिक, सांस्कृतिक, आन्तरिक पर्यटन तथा व्यवसायका लागि मेला महोत्सवको महत्त्व हुने भएको हुँदा मेलाहरूको आवश्यकता भएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताए ।

यद्यपि मेलाबाट विभिन्न विकृत तथा आपराधिक गतिविधी पनि निम्तिने भएको हुँदा यसबाट सजग हुनुपर्ने नागरिकहरूको धारणा छ ।

मेला सञ्चालन पूर्व नौमती बाजा र विभिन्न जनजातिका सांस्कृतिक झाँकीसहित स्थानीयवासीहरूले केराबारी चोकमा अवस्थित मच्छिन्द्रनाथको प्रतिमा परिक्रमा गरेका थिए ।

केराबारी बजारदेखि करिब १ किलोमिटर पूर्व मेला स्थल केराबारीको खेलमैदान राईको साकेला, नेवारको लाखेनाच , लिम्बूको च्याब्रुङ नाचसहित नौमती बाजा बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो ।

मेला उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति भुजेल लिम्बू, नेपाली काङ्गे्रसका प्रकाश बस्नेत, केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विक, खदम क्याम्पसका प्रमुख एवम् शिक्षासेवी टेकबहादुर थपलिया, वडाध्यक्ष मनोज खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

मेलामा दैनिक स्थानीय स्तरका सांस्कृतिक खेलकुद प्रतियोगिता, गरिने र रात्रिकालीन समयमा कलाकारबाट साङ्गीतिक कार्यक्रम गरिने तालिका रहेको आयोजकले बताएको छ ।

कार्यक्रम मेला आयोजक मूल समितिका अध्यक्ष टङ्कबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।