पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा विभिन्न सङ्घ संस्थाले जाडोको समयमा न्यानो कपडा वितरण अभियान अघि बढाएका छन् । नगरपालिका कार्यालयसमेत यस कार्यमा संलग्न बनेको छ ।
नगरले अतिविपन्न घर–परिवारलाई न्यानो कपडा वितरण कार्य अघि बढाएको छ । १० वटा वडा रहेको नगरमा प्रत्येक वडाबाट अतिविपन्न अवस्थाका ३०–३० परिवारका लागि न्यानो कपडा वितरण कार्यक्रम अघि बढाएको नगर प्रमुख दिलिपकुमार राईले बताए ।
जसअन्तर्गत, वडा नम्बर १ र ४ मा १ थान ओछ्याउने म्याट्रेस र १ थान ब्लाङ्केट प्रदान गरिएको छ । शुक्रबार वडा नम्बर ४ मा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहितका जनप्रतिनिधिले सामग्री वितरण गरे ।
उता, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) नगर समितिले वडा नम्बर ६ स्थित दलित बालबालिका बाहुल्य रहेको सामुदायिक विद्यालय शिक्षा सदन आधारभूत विद्यालयका सबै विद्यार्थीलाई स्वेटर वितरण गरेको छ ।
२९ औं प्याब्सन दिवशका अवसरमा विद्यालयका ८४ जना विद्यार्थीलाई ३० हजार मूल्य बराबरको स्वेटर वितरण गरिएको हो । कार्यक्रममा, वडाध्यक्ष जयबहादुर तामाङ, प्याब्सनका अगुवाहरू नोवलकिशोर खनाल, टीकाप्रसाद दङ्गाल, उपेन्द्र कँडेल, नगर शिक्षा शाखाका अधिकृत दुर्गाप्रसाद सिग्देल, समाजसेवी वद्री निरौला, विद्यालयका अध्यक्ष इन्द्रबहादुर कार्की, प्रधानाध्यापक अर्जुन कार्कीसहितले स्वेटर वितरण गरे ।
निजी विद्यालयको सङ्गठन भएर पनि समस्यामा परेका गरिब बस्तीका सामुदायिक विद्यालयका विद्यार्थीलाई पुर्याएको सहयोगप्रति स्थानीयले प्रशंसा गरेका छन् । त्यहाँ ऋषिदेव र सन्थाल समुदायका ९५ प्रतिशत र अन्य समुदायका ५ प्रतिशतमात्र विद्यार्थी अध्ययन गर्दछन् ।
कक्षा–५ सम्म सञ्चालित २ वटामात्र सरकारी शिक्षक दरबन्दी रहेको छ । अन्य ३ जना राहत शिक्षक, बाल कक्षा सहयोगी र कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाउन समस्या परिरहेको बताइएको छ ।
































