पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुगम नेपाल निर्माणमा सरकार प्रतिबद्व भएर लागेको बताएका छन् ।

शुक्रबार पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबीमा प्रधानमन्त्री ओलीले सबै दुर्गम क्षेत्रमा विकासका पूर्वाधारहरु पु¥याएर सुगम नेपाल बनाई छाड्ने ढृडता ब्यक्त गरे । भेंडेटार–रबी–राँके सडक कालोपत्रेको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दुर्गम क्षेत्रलाई यातायात, पर्यटन, स्वास्थ्य र शिक्षाले जोडेर सुबिधा सम्पन्न बनाइने बताए ।

एकताबद्ध भएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार गम्भीर रहेको उनले बताए । मुलुकलाई सुगम बनाउने अभियानकै क्रममा भेंडेटार–रबी–राँके सडकलाई कालोपत्रे गर्न लागिएको प्रधानमन्त्री ओलीले बताए । यसले पाँचथर, इलाम, मोरङ र धनकुटा जिल्लाको समृद्धिको ढोका खुलेको उनको भनाइ थियो ।

सडक कालोपत्रेको काम आगामी तीन वर्षभित्र सम्पन्न हुने बताउँदै प्रधानमन्त्रीले यस कार्यमा सम्बद्ध सबै पक्षलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा भौतिक पूर्वाधार तथा योजनामन्त्री रघुबीर महासेठले निर्माण कम्पनी र योजना कार्यान्वयन गर्ने निकायलाई भेँडेटार–रबी–राँके सडकको कालोपत्रे गर्ने कार्य समयमै सम्पन्न गर्न निर्देशन दिए ।

एक सय किलोमिटरको भेंडेटार–रबी–राँके सडक कालोपत्रेका लागि तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैयाँ लागत अनुमान रहेको छ । कूल लगानीको ८७ प्रतिशत एक्जिम बैङ्क अफ इण्डियाको र १३ प्रतिशत नेपाल सरकारको लगानी रहेको छ ।