धरान / सूर्य नेपाल इष्र्टन नेपाल प्रो–एमको उपाधि प्रो. शिवराम श्रेष्ठको समूहले जितेको छ ।

निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टको १८ होल पार ७० को कोर्षमा कुल १५२ स्कोर ल्याउदै प्रो. शिवरामको समूह विजेता बनेको हो । शिवरामको टोलीमा एमेच्योर गल्फर समिर आचार्य, रितेश तामाङ र टेकबहादुर राई रहेका थिए । स्टेबल फोर्डको आधारमा भएको खेलमा घरेलु प्रो. शिवकुमार माझीको टोलीले १४१ स्कोर गर्दै दोस्रो बन्यो । माझीको टोलीमा एमेच्योर बिएम सुनुवार, बबिन्द्र राई र राजेश राई रहेका थिए ।

त्यस्तै १३६ स्कोर गर्दै प्रो. दीपक मगरको टोली तेस्रो बनेको छ । मगरको टोलीमा बमप्रसाद लिम्बू, विरेन लिम्बू र नोर्किन पाख्रिन रहेकी थिइन् । यसक्रममा नियरेष्ट टु दी पिनमा सुमोध बास्तोकोटी घोषित भए । उनले १७ नम्बर होलमा नियरेष्ट टु दी पिन गरे । त्यस्तै युवा खेलाडी रितेश तामाङ लगेष्ट ड्राइभको टाइटल जिते । उनले १८ होलमा लङ्गेष्ट ड्राइभ गरेका थिए ।

विजेताहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, नेपाल गल्फ सङ्घका केन्द्रीय उपाध्यक्ष तिलक राई, जिल्ला सङ्घका डिबी राई, १८ नम्बर वडाध्यक्ष प्रवीण राईलगायतले पुरस्कार वितरण गरे । प्रो–एममा कुल ९ वटा टोलीबीच भिडन्त भएको थियो । नेपाल प्रोफेसनल गल्फ एसोसिसनको आयोजनामा भएको सूर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो–एम प्रतियोगिता भएको हो ।

शुक्रबहादुरलाई घर हस्तान्तरण

सूर्य नेपाल इष्र्टन ओपनको उपाधि रक्षा गरेका एमेच्योर शुक्रबहादुर राईलाई विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोगमा निर्माण भएको घर हस्तान्तरण गरिएको छ ।

शनिबार प्रो–एम खेलको समाप्तिपछि एमेच्योर राईको घर हस्तान्तरण गरिएको हो । उनको घर नेपाल गल्फ सङ्घ, बेलायत, सिङ्गापुरलगायत स्थानीय शिक्षासेवी लेखिराज सुब्बालगायतको सहयोगमा निर्माण भएको घर हस्तान्तरण गरिएको हो । घर उनका बुबा लक्ष्मण राईलाई हस्तान्तरण गरिएको थियो । ७ लाख १२ हजार २ सय ३ रूपैयाको लागतमा निर्मित घर हस्तान्तरण गरिएको थियो । सामान्य काठको घरलाई मर्मत गर्ने तयारी गरेको जानकारी पाएपछि सङ्घलगायतले सहयोग गरी निर्माण गरिदिएको नेपाल गल्फ सङ्घका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताए ।
यसैबीच एचेम्योर राईलाई सङ्घले सूर्य इष्र्टन ओपन जितेपछि केही नगदसमेत सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष राईले बताए । ‘यतिउति भन्ने भएको छैन, ५० हजारको हाराहारीमा हुनसक्छ ।’ घर हस्तान्तरणको क्रममा उनले भने । एमेच्योर गल्फरलाई नगद दिने प्रचलन नभएकाले पनि उनले उपाधि रक्षा गरे पनि नगद प्राप्त गरेनन् । क्याडी ब्वाइदेखि उनी गल्फमा संलग्न छन् ।

राइलाइ गल्फर तेजबहादुर राइले नगद ५० हजार रूपैयाँ दिन वचन दिए भने प्रतिष्ठानका उपकुलपति प्रा.डा. राैनियारले पनि नगद २० हजार रूपैया सहयाेग गर्ने बताए ।