इटहरी/सुनसरीको हरिनगर गाँउपालिका–६ स्थित अटुट कृषि सहकारी संस्थाको करिब ७५ लाख रुपैयाँ हिनामिना भएको छ ।

हिनामिनामा पदाधिकारीकै संलग्नता रहेको तथ्य खुलेको छ । हिनामिना भएको बाहिरिएसँगै एकअर्काबीच मुद्दा हालाहालको स्थिति सिर्जना भएको छ । संस्थाका अध्यक्ष लुकमान अन्सारी र उपाध्यक्ष अफरोज आलमसहितले लाखौं रुपैयाँ हिनामिना गरेको अर्को पक्षको आरोप छ ।

सहकारीको रकममा लुकमान र अफरोज नै संलग्न रहेको कर्मचारीका आफन्त बताउँछन् । हिनामिनामा उनीहरू तानिने भएपछि संस्थाका कम्प्युटर अपरेटर समिममाथि हिनामिनाको आरोप लगाएर पक्राइएको आफन्तको आरोप छ ।

हरेक दिनको आर्थिक कारोबार कम्प्युटरमा ‘इन्ट्री’ गर्ने गरे पनि अध्यक्ष/उपाध्यक्षले हिनामिना गरी आरोप समिममाथि लगाएर बच्न खोजेको समिमका आफन्त ताहिर हाजीले बताए । उनले भने, ‘योजनापूर्वक नै लुकमान र अफरोज जोगिने खेल हो’ । समिम ८ दिनदेखि प्रहरी हिरासतमा छन् ।

समिमकी आमा नरेशा खातुनले पनि आफ्नो छोरोले रकम हिनामिना नगरेको बताइन् । जालसाजी गरी आफ्नो छोरालाई फसाउन लागेको उनको दाबी छ । अध्यक्ष र उपाध्यक्षले अल सुफ्फाह मनी ट्रान्सफरमा कम्प्युटर अपरेटरको सहयोगीको रूपमा कार्यरत थिए । मनी ट्रान्सफर र कृषि सहकारी एकै ठाउँमा छ ।

आर्थिक कारोबार सबै लुकमान र अफरोजले गर्ने गरेको भए पनि सहकारीको ०७३/०७४ को अडिटले समिम उपर ७५ लाख ६० हजार ९७५ रुपैयाँको बेरुजु देखाएको थियो । समिमले त्यस समय अडिटको फोटोकपी माग्दा समेत अडिटर सुशिल पोखरेल नदिएको परिवारको भनाइ छ ।

परिवारका अनुसार पोखरेलले अडिटको फोटोकपी दिनलाई ५० हजार घुस दिएको दाबी गरे । सहकारी संस्थाका अध्यक्ष लुकमान अन्सारीले जिल्ला अदालत सुनसरीमा मसिंर २७ गते ठगी मुद्दा दायर गरेका थिए ।

अन्सारी बिरुद्ध ठगी मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । समिम पक्षले पनि मसिंर ६ गते जिल्ला अदालत सुनसरीमै जालसाजी मुद्दा दायर गरेका थिए । अध्यक्ष लुकमान, उपाध्यक्ष अफरोज र एस पोख्रेल एण्ड कम्पनिका लेखापरिक्षक सुशिल पाखरेल बिरुद्ध जालसाजी गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

यता अध्यक्ष लुकमानले समिम संस्थाको कम्प्युटर अपरेटरको रुपमा काम गदै आएको बताए । संस्थाको सम्पूर्ण आर्थिक कारोबार कम्प्युटरमा इन्ट्री समिमले नै गर्ने गरेकाले उसले नै रकम हिनामिना गरेको अध्यक्ष लुकमानले दाबी गरे ।

आफुहरुले गाँउपालिका र अदालतमा पेश गरेको कुनै पनि कागजात नक्कली नभएको उनले बताए । समिमसँगको पटक–पटकको छलफलमा पैसा चलाएको स्वीकारेको र पैसा दिने बताएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले कसैलाई दबाव र प्रभावमा काम गराएका छैनौं, संस्थाको रकम हिनामिना हुदा हाम्रो पनि जिम्वेवारी रहन्छ, हामीले पनि आफ्ना ग्राहकलाई जवाफ दिनुपर्छ ।’