रङ्गेली / प्रदेश १ का सभामुख, उपसभामुख र सांसद्हरूले प्रदेशमा लैङ्गिक हिंसा अन्त्य गर्ने प्रण गरेका छन् ।

लैङ्गिकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रदेशसभामा आयोजना भएको छलफल कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा सभामुख प्रदीपकुमार भण्डारीले हिंसा अन्त्य गर्न सबैले हातेमालो गर्नुपर्ने बताए । उनले हिंसा उजागर गर्न सक्ने वातावरण निर्माण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औंल्याए ।

उनले ऐन, कानून पर्याप्त निर्माण भइरहेको भए पनि त्यसको कार्यान्वयनमा कठिनाइ रहेको बताए । उनले प्रदेश सभालाई हिंसामुक्त बनाउने प्रण गरेका थिए ।

कार्यक्रमा उपसभामुख सरस्वती पोखरेलले सरकारको प्रतिबद्धता, कानून र सन्धि–सम्झौतामा हस्ताक्षरका बावजुद पनि लैङ्गिक हिंसा झनै जटिल बन्दै गएको बताइन् ।

सबैको तर्फबाट सामूहिक प्रतिबद्धताबाट लैङ्गिक हिंसा अन्त्य गर्न सम्भव हुने उनले बताइन् । बाबु, छोरा, आफन्त जो कसैलाई पनि कारबाहीको दायरामा ल्याए हिंसा घट्ने उपसभामुख पोखरेलको धारणा थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद् राजीव कोइरालाले नेपाली काङ्ग्रेसले लैङ्गिक हिंसामा संलग्नलाई सदस्यता नदिने प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिबद्धता व्यक्त गर्दै सांसद् जयराम यादवले धर्म, संस्कृतिले बाँधेर राखेको मानिसमा आधुनिकतासँगै विकृति बढेको बताए । उनले घटनामा संलग्न पीडकहरूलाई राजनैतिक संरक्षण दिन नहुने धाराणा राखे ।

नेकपाकी सचेतक सीता थेवेले पितृसत्तावादी सोचको कारणले अझै पनि महिलामाथि विश्वास नगर्ने गरेको धारणा राखिन् । सत्यता र दृढताको साथ अगाडि बढेको खण्डमा कसैको साथ नपाए पनि हिंसा न्यूनीकरण गर्न सफल हुन सकिने बताइन् ।

संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको कार्यालयले आयोजना गरेको कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

उनीहरूले हिंसाको न्यूनीकरण होइन, निमिट्यान्न पार्नुपर्ने धारणा राखेका थिए । सो अवसरमा सुन्तला रङ्गको बत्तीको प्रयोगले प्रदेशसभा भवन रङ्गीन बनाइएको थियो ।

लैङ्गिक हिंसा रोकथाम तथा उपचारसम्बन्धी प्रस्तुति यूएन वुमनकी कमला थापाले दिएकी थिइन् । यूएनसिएचआर शाखा प्रमुख खालेद फन्जाले पनि छलफलमा आफ्नो धारणा राखेका थिए ।