राजविराज/ प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघिय सरकारको यही रबैया रहे प्रदेश सरकार आफै कानून बनाएर अघि बढ्ने चेतावनी दिएका छन् ।
आईतबार राजविराजमा खानेपानी तथा सरसफाइ डिभिजन नं. १ कार्यालयको उदघाटन गर्दै उनले सो चेतावनी दिएका हुन् । संघिय सरकारले प्रदेश २ को सम्बेदनशिलता समयमै नबुझे विगतमा प्रदेश सभाबाट प्रहरी सेवा ऐन पास गरी ल्याए जस्तै करार सेवा ऐन ल्याएर आवश्यक कर्मचारी भर्ना गरिने उनको चेतावनी छ ।
प्रदेशमा ५ हजार कर्मचारी आवश्यक भएकोमा केन्द्र सरकारले २२ सय कर्मचारी मात्र भर्ना गर्ने गरी संरचना ल्याउन लागेको उल्लेख गर्दै उनले भने यही रवैया रहे प्रादेशिक लोक सेवा आयोग ऐन पनि प्रदेश सभाबाट पास गरी आवश्यक कर्मचारी भर्ना गरिने छ ।
उनले संघीय सरकारले हालसम्म वित्तीय आयोग गठनसमेत नगरी हचुवा र विभेदको भरमा प्रदेशलाई बजेट बिनियोजन गरेको आरोप पनि लगाए । बल केन्द्र सरकारको कोटमा छ उनले भने, सरकारले जस्तो व्यवहार देखाउँछ हामी पनि त्यसै अनुसार प्रस्तुत हुने छौं ।
उनले मधेशलाई ८ जिल्लामा सीमित पारेको संघिय सरकारले जनसंख्याको आधारमा आवश्यक बजेट नछुटयाए यस प्रदेशबाट संकलन हुने सवै राजश्व रोक्का गरी प्रदेश २ कै विकास निर्माणमा खर्च गरिने चेतावनी पनि दिए ।