वराह भगवानको प्राकाट्य भूमि वराहक्षेत्र अन्य वरिपरिका तीर्थस्थलले पनि सजाएको छ । वरिपरिका अरु तीर्थस्थलहरूको केन्द्रविन्दु रहेको वराहक्षेत्र विश्वकै पहिलो धामको रूपमा स्थापित धाम हो भन्ने कुरा शास्त्रीय ग्रन्थहरुले व्याख्या गरिरहेका छन् । तर ती तीर्थहरु आज लोपोन्मुख अवस्थामा रहेका छन् । ती हुन्–

१. ब्रह्मकुण्ड र ब्रह्म धारा वराह भगवान्को मन्दिर नजिकमा रहेको ब्रह्मानन्द खोलाको शिरमा रहेको ब्रह्मकुण्ड ब्रह्मधारा स्कन्द पुराणका आधारमा अति नै उत्तम तीर्थ मानिन्छ । वराहकुट पर्वतको शिखरमा परापूर्वकालमा स्वयम् ब्रह्माजीले उक्त कुण्ड र धारामा स्नान गरी अति उत्तम तीर्थ बनाउनुभएको थियो भनेर स्कन्दपुराणमा भनिएको छ । उक्त कुण्डमा जुन मनुष्यले स्नान गर्दछ । त्यसले निश्चय नै ब्रह्मत्व प्राप्त गर्दछ । शास्त्रहरुले महत्व दिएअनुसार त्यस ब्रह्मकुण्डबाट एक दिव्य धारा खस्दछ, जसलाई ब्रह्मधारा भनिन्छ । त्यही धारा नै ब्रह्मानन्द गङ्गा÷ खोला हुन् । त्यही ब्रह्मधारामा स्नान गर्नाले मानिसले सम्पूर्ण पापबाट छुट्कारा प्राप्त गर्दछ भनेर स्कन्दपुराणमा स्पष्ट व्याख्या गरेको पाइन्छ ।

२. यमव्यसन तीर्थ (हालको यमराज खोला) यो तीर्थ चतराधामबाट वराह भगवानको मन्दिर जाँदा बाटामा पर्दछ । वराहपुराणका अधारमा यो तीर्थ अत्यन्त प्राचीन र पवित्र तीर्थ मानिन्छ । यसलाई यमव्यसन तीर्थ भनिन्छ । वराह भगवानले यमव्यसन तीर्थको जल अत्यन्तै पवित्र छ र यही तीर्थबाट निस्किएको जलधारा कौशिकी नदीमा मिल्दछ भनेर स्वयम् वराह भगवान्ले लक्ष्मीलाई सुनाउनु भएको छ । हाल यस तीर्थलाई यमव्यसन तीर्थ नभनेर यमराज खोला भन्ने गरिएको छ । जुन, यमव्यसनकै अपभ्रंश नाम हो । पौराणिक समयमा यमराज आफ्नी बहिनीको हातको टीका लगाउन कहिलेकाहीँ यमव्यसन तीर्थमा आउने गरेकाले नै यसलाई यमव्यसन तीर्थ भनिएको हो । जसले यस खोलामा आई आफ्ना दिदीबहिनीको हातको टीका लगाउँदछ भने उसले कहिल्यै यमराजको फेला पर्नु पर्दैन भन्ने शास्त्रीय प्रमाण छ ।

३. मातङ्गतीर्थ (अहिलेको कालीकुण्ड) पौराणिक इतिहास वराह पुराणका आधारमा वराह भगवानको मन्दिरदेखि पूर्व–दक्षिण ब्रह्मकुण्ड ब्रह्मधारादेखि पूर्वपट्टि निकै अग्लो पहाडको शिखरमा अर्को पवित्र पावन मातङ्ग नामको विख्यात तीर्थ छ । उक्त तीर्थस्थलमा दर्शन गर्न जाँदा स्नान गर्ने पवित्र काली कुण्ड छ । जसबाट एक धारा प्रकट भई कौशिकी नदीमा मिल्दछ । पवित्र तीर्थ मातङ्ग कुण्डलाई स्थानीयवासीले काली भनेर चिन्दछन् । यो कुण्ड अत्यन्तै दिव्य चमत्कारी कुण्ड हो आजभोलि पनि यो कुण्डमा कसैले हलोजुवा, हल्लुँड लगेर चोप्यो भने ठूलो मेघ गर्जने, बज्र पर्ने, हावाहुण्डरी चल्ने आदिबाट क्षति पुग्ने गर्दछ । कुण्ड अत्यन्तै अग्लो पहाडको चुचुरामा छ । तर पनि कुण्डमा पानी कहिल्यै सुक्दैन । यो चमत्कारी कुण्ड तीर्थयात्रीहरूका लागि महत्वपूर्ण मानिन्छ । तर यातायात सञ्चार र प्रचार–प्रसारको कमीले दिव्य तीर्थ हुँदाहुँदै पनि ओझेलमा परेको छ ।

४. बज्रभव तीर्थ (सत्र नम्बर भीरको धारो भएको ठाउ“) विश्वकै पहिलो धाम वराहक्षेत्र वराह भगवानको मन्दिर जाँदा ब्रह्मानन्द खोलामा पुग्ने बेलामा बाटैमा सत्र नम्बरको भीर भन्ने ठाउँ आउँछ, जुन निकै उचाइमा पनि छ । त्यहाँ बाह्रैकाल पानीको धारो बगिरहन्छ । कहिल्यै सुक्दैन । उक्त तीर्थमा रहेको पानीमा देवताहरुले स्नान गरी मुक्त भएको शास्त्रीय प्रमाण वराह पुराणमा उल्लेख गरिएको छ । भगवान् वराह लक्ष्मी मातालाई भन्नुहुन्छ– ‘हे वाराही भगवती यहाँ एक पवित्र र अति गोप्य तीर्थ छ । जसको नाम हो बज्रभव तीर्थ । यो पवित्र तीर्थबाट एक जलधारा निस्कन्छ र कौशिकीमा गई मिल्दछ । यस धारामा स्नानादि अथवा आचमन मात्र पनि गर्नाले नरकमा पर्नु पर्दैन’ भन्ने शास्त्रीय प्रमाण छ ।

५. गुप्त वराह बज्रभवतीर्थको ठीक तलतिर कौशिकी नदीभन्दा माथि बीचभीरमा एक दिव्य गुफा छ । त्यसलाई गुप्त वराह भनिन्छ । यस गुफालाई पुराणहरुमा गुप्त वराहतीर्थ भनिन्छ । स्वयम् वराह भगवान् पृथ्वीको उद्धार गरी थाकेको बेलामा गुप्तरूपमा गुफामा पसी आराम गर्नु भएको हुँदा त्यस स्थानलाई गुप्त वराह तीर्थ भनिएको हो । पछि त्यही गुफामा महामुनी औलिया बाबा बसी त्यहीँबाट वराह भगवानको नित्य आरति गर्न जानुहुन्थ्यो । अहिले त्यो गुफा जङ्गलले छोपिएको छ । गुफामाथि बाटो खनेकाले माटोले धेरै पुरिएको छ । यो ऐतिहासिक गुफा हो । यसको खोजी र महत्व दर्शाउनु नितान्त आवश्यक छ । यो गुफा पुरातात्विक वस्तुभित्र पर्दछ । यसरी बृहत् वराहक्षेत्रभित्र कयौँ पवित्र र दिव्य तीर्थस्थलहरु छन् । यी तीर्थहरूको पहिचान गरी महत्व उजागर गर्नसके सरकारले पनि हाम्रो देशको गौरव बढाउने यी तीर्थहरूलाई चिनाउनु पर्छ, कम्तिमा यातायातसम्मको व्यवस्था गरिदिए पनि चासो राख्ने जनताहरूले दर्शन गर्ने थिए । ती पवित्रस्थलहरुको महत्व बढ्ने थियो । बाँकी अर्को हप्तामा पाठकहरूको जिज्ञासा मेट्ने जमर्को गर्दछु । अस्तु ।