गृहमन्त्रालयले सुरक्षा निकायमध्येको अभिन्न अङ्गका रूपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को काम के हो भन्ने कुरा सबै सर्वसाधारणलाई थाहा पनि छैन । गुप्तचरको काम के हो ? के के गर्दैछ भन्ने कुरा जनतालाई थाहा पनि हुँदैन । गुप्तचरको काम पनि थाहा नहोस् नै भन्ने होला । नेपाल सरकार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग यतिबेला अस्त–व्यस्त बनेको छ भन्दा फरक नपर्ला । राष्ट्रका गम्भीर सूचना सङ्कलन गरी सरकारलाई जानकारी गराउने गुप्तचरहरू सूचनाविहीन छन् । देशको एउटा मात्रै गुप्तचर विभागका कर्मचारीहरू अहिले के गर्दैछन् भन्ने कुरा गुप्तचर विभागलाई थाहा छ कि छैन होला ? राजनीतिक नियुक्तिमा जागिर खाएर मान्छे राख्छन् । ती त्यस्ताखालका मान्छेले सङ्कलन गरेका रिपोर्ट कस्ता होलान् । सरकार, मुख्य राजनीतिक पार्टी र गृहमन्त्रालयलाई गलत रिपोर्टिङ गर्ने, विभागमा गलत कार्य गर्ने, विभागलाई भर्तीकेन्द्र बनाउने र राष्ट्रको संवेदनशील ठाउँमा बसेर गलत कार्य गर्ने तत्वहरूको संरक्षण गर्ने तत्वहरू धेरै छन् । काम केही छैन, पत्रिकामा भएका समाचारलाई सूचना सङ्कलन गरी, सरकारलाई गलत रिपोर्ट गर्नेहरूले अहिले पनि मन्त्रीको वरिपरि घुमी आफ्नो स्वार्थ पूर्ति गर्ने गरेका छन्  । पत्रकार जस्तै कापी, कमल लिएर हिँड्ने यसका कर्मचारीहरू कति ठाउँमा आफूहरूलाई पत्रकार नै हुँ भन्दै हिँडेको मैले नै भेटेको छु । गुप्तचरका अधिकांश कर्मचारीहरू पत्रकार सँग विज्ञप्ति माग्ने र इलाका प्रहरी कार्यालय वरिपरि सूचना माग्न ढुक्ने कामबाहेक खासै प्रगति गर्न सकेको देखिँदैन । पूर्वको मुख्य कार्यालय पनि धरानमा छ । यस कार्यालयमा डिआईजी नै बस्ने गर्छन् । ठूला–ठूला घटनाकोसमेत समयमा सूचना नपाउने गुप्चतर निकायको के काम ? उनीहरूलाई सक्रिय बनाउन नसक्नु गृहमन्त्रालयको पनि गम्भीर त्रुटि नै हो भन्दा फरक नपर्ला । उनीहरूको काम गोप्य सूचना बाहिर ल्याई आपराधिक र देशद्रोही काम हुन नदिनु नै प्रमुख हो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सुरक्षासम्बन्धी सूचना दिने काम बरु स्तरीय छ । तर सूचनाकै लागि करोडौं खर्च गरेर राखेका कर्मचारीहरू चाहिँ के मा व्यस्त हुन्छन् त ? रेडियो सुनेर र पत्रिका पढेर बलियो सूचना पाउलान् त ? यस्तो विषयमा गम्भीर ध्यान जानुपर्छ । सेना, प्रहरी र हतियारभन्दा जासुसी सूचनाको महत्व धेरै हुन्छ । तर आधुनिक युगमा कसै विरुद्ध गोप्य निगरानी राख्नु भने लोकतान्त्रिक मान्यताविपरीत मानिन्छ । तर जे भए पनि गुप्तचरी सुरक्षाको एउटा रीत हो र रीत नपु¥याई न मुलुक सुरक्षित हुँदैन । जासुसीले कुनै अपराध अथवा शत्रुको भेद थाहा पाउन गरिने गोप्य चियोलाई बुझाउँछ । नेपालको जासुसी ऐन, २०१८ ले जासुसीलाई दुई रूपमा अथ्र्याएको छ । पहिलो, कुनै व्यक्तिले मुलुकको हित वा सुरक्षामा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले विदेशीबाट प्रलोभनमा परी आन्तरिक सुरक्षाको व्यवस्थाको सूचना दिएमा वा त्यस्तो काम सुलभ गराइदिएमा त्यस्तो व्यक्तिले जासुसी कसुर गरेको मानिनेछ । दोस्रो, सरकारको तर्फबाट गोप्य राखिएको कुनै कूटनीतिक लेखोट वा अन्य कुनै गोप्य सरकारी कागजातसम्बन्धी लेखोटको सूचना सोही हेतुले अरुलाई दिएमा पनि जासुसी कसुर गरेको मानिनेछ । यसबाहेक नेपाली सेनाको सैन्य गुप्तचर विभाग (डिपार्टमन्ट अफ मिलिटरी इन्टेलिजेन्स) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पनि गोप्य सूचना सङ्कलन गरिरहन्छन् । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरू भन्दा आकर्षक तलब–भत्ता सुविधा पाउँदै आएका छन् । साथै दिनको दुई घण्टा पनि काममा नखटिएर अन्य ठाउँहरूमा व्यक्तिगत व्यापार गदै आएका छन् । अरु राष्ट्रसेवक कर्मचारीभन्दा तलबको २५ प्रतिशत जासुसी भत्ता, नेपाल प्रहरीसरह रासन र वार्षिक रूपमा लुगाभत्ता समेत पाउँदै आएका छन् । यस्तो आकर्षक सुविधा दिएर पनि देशलाई फाइदा छैन भने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूले लिएको भत्ता, रासन र लुगाभत्ता फिर्ता गर्नुपर्छ । हैन भने सुविधाअनुसारको काम नगर्ने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्छ । राष्ट्रिय अनुसन्धान विभागमा वार्षिक रूपमा सुराकी बापत करोडौं बजेट आउने गरेको छ । सो बजेट राष्ट्रिय अनुसन्धान विभाग प्रमुख र निजकै आसेपासेले आफ्नो तजबिजमा नक्कली सुराकीको रामे, श्यामे नाम खडा गरी बायाँ हातले हस्ताक्षर गरेर निकासा गरी घोटाला हुँदैछ भन्ने कुरा पनि बाहिर आएकै हो ।

गुप्तचर सक्रिय बनाऊ सूचना सङ्कलनसम्बन्धी सूक्ष्म प्रविधि र तालिमबिना गुणस्तरीय सूचना पाउनु मुस्किल छ । नेपालमा गुप्तचरलाई प्रभावकारी बनाउन उनीहरूसँग प्रविधि पनि छैन । नेपाली सेना, नेपाल प्रहरी र गुप्तचरबीच सूचना आदान–प्रदानमा प्रभावकारी सहकार्य भएको पनि देखिएको छैन । उनीहरू एक आपसमा सूचना बाँड्न चाहँदैनन् । नेपाल प्रहरी, सेना, सशस्त्रलगायतका सुरक्षा निकाय काममा व्यस्त हुन्छन् तर अनुसन्धान विभाग चाहिँ कहाँ के सूचना खोज्दैछ ? सामान्य पत्रकार सम्मेलन गरेको विज्ञप्ति मेल गरेरै जागिर खाएर राष्ट्रको ढुकुटी सिध्याउनेभन्दा केही काम भएको जस्तो लाग्दैन । अपराधको ट्रान्जिट पोइन्ट बनाई गरिने अपराधहरूको बारेमा सक्रिय रूपमा लागेर सही सूचना सङ्कलन गरेमात्र देशमा शान्ति हुने पक्का छ । शान्तिसुरक्षाको जिम्मेवारी पाएको गुप्तचरले आगामी दिनमा नयाँ रणनीतिका साथ नयाँ–नयाँ प्रविधिहरूको प्रयोग गरी आपराधिक गतिविधि पत्ता लगाउने काम गरोस् र जनताको मन जित्न सफल होस् । सूचना बलियो बनाउन प्रहरीले दक्ष जनशक्ति परिचालन गर्नुको विकल्प छैन । यस विषयमा अध्ययन गरी सुरक्षा व्यवस्था कडा बनाउनु अहिलेको आवश्यकता हो । सूचनालाई बलियो बनाई प्रहरी प्रशासनले यतिखेर आफ्नो दक्षता देखाउन आवश्यक देखिन्छ ।