चितवन (रासस) । रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्/ छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् । नगरपालिकाकाले मोबाइल एप्स तयार पारेर सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पाउने भएका हुन् । नगरपालिकाले तयार पारेको ‘रत्ननगर म्युनिसिपिलिटी’ नामक मोबाइल एप्स डनलोड गरेपछि उक्त एप्समार्फत नगरपालिकाको सम्पूर्ण विवरण घरमै बसीबसी हेर्न मिल्ने भएको हो । नगरपालिकाका प्रमुख नारायण वन नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै लगेको जानकारी दिँदै भन्छन् , “हामीलाई खबरदारी गर्न पनि यो प्रविधि विकास गरिएको हो ।” प्रविधिलाई सिर्जनात्मक रूपमा लिइनुपर्ने चर्चा गर्दै उनी भन्छन्, “राम्रा कामको प्रशंसा र गल्ती भएका कुरा सुधार गर्न सकारात्मक सुझावको अपेक्षा गर्दछौँ ।” नगरपालिकाले विकास गरेको एप्समा नगरपालिकाको संक्षिप्त विवरण, सम्पूर्ण वडाको नक्सा तथा स्थान, कर्मचारीको विवरण, सार्वजनिक यातायात र एम्बुलेन्स पत्ता लगाउन सकिने सुविधा छ । यसैगरी विकास निर्माण र नगरपालिकाका समस्या तथा गुनासो फोटो र भिडियोसहित उजुरी गर्न सकिने सुविधा पनि एप्समा छ । आफ्नो कोड नं राखी डिजिटल नक्सापासको फाइल कहाँ पुगेको छ भन्ने जानकारी लिन सकिने भएको छ । निकट भविष्यमा नै एप्समार्फत नै अनलाइन कर तिर्ने सुविधा पनि विकास गर्न लागिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत रवि तिवारी बताउँछन् । नगरपालिकाले नगरसभामार्फत ४६ लाख बजेट विनियोजन गरेर सूचना प्रविधिका आधुनिक सेवाको प्रयोगलाई व्यापक बनाएकोे हो । नगर प्रमुख वन नगरपालिकालाई कागजरहित बनाउने कामको शुरुवात गरिएको बताउँछन्  । उनका अनुसार सम्पूर्ण वडा कार्यालयलाई दैनिक इमेलमार्फत पत्राचार गर्न थालिएको छ । सबै वडामा उच्चगतिको फाइबर इन्टरनेट र भिल्यान प्रविधिमार्फत नगरपालिकामा जोड्ने काम अन्तिम चरणमा पुगेकाले सबै वडाबाट कर सङ्कलन गर्न सकिने भएको छ । नगरपालिकामा नक्सापास, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षालाई अनलाइनमार्फत दर्ता गर्न शुरु गरिएको र सेवाग्राहीको कामलाई सहज बनाउन सर्भिस नेटवर्किङ पनि गरिएको छ । त्यसैगरी नगरपालिकाले सार्वजनिक यातायात र एम्बुलेन्सलाई जिपिएस प्रविधिमार्फत जोड्नने प्रविधि विकास गरेको छ । छिट्टै नै यो सेवा नियमित गर्ने नगर प्रमुख वन बताउँछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुङ्गाना ठेक्कापट्टालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन सेवा शुरु गरिएको र नागरिक वडापत्रलाई डिजिटल गरिएको जानकारी दिए ।