पानवारी । चलचित्र ‘मेरी मामु’ को टिम फिल्म प्रवर्द्धन गर्दै पूर्व दौडाहामा निस्किएको छ । चलचित्रको प्रवर्द्धन गर्दै निर्माता सन्तोष सेन, नायिका कुसुम गुरुङ, बाल कलाकार आयुष सेन र गायक सागर संसार राई पूर्वका विभिन्न शहरमा चलचित्रको प्रवर्द्धन गर्न निस्किएका हुन् । शनिबार चलचित्रको टिमले धरानमा पत्रकार सम्मेलन गरेर चलचित्र राम्रो बनेको दाबी गरेको छ । मेरी मामुको टिम धरानहुँदै इटहरी, दमक, विर्तामोड र काँकडभिट्टासम्म पुगेर चलचित्रको प्रवर्द्धन गर्ने निर्माता सन्तोष सेनले बताए । आशुसेन फिल्मस्को ब्यानरले यसअघि प्रेमगीत र प्रेमगीत–२ गरी दुई हिट चलचित्र ल्याइसकेको छ । चलचित्रको गीत ‘माफ गरिदेउ आमा...’ रिलिज भएपछि निर्माता सेनका छोरा बाल कलाकार आयुष सेनको अभिनयको चर्चा चुलिन थालेको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्माता सेनले बच्चाको मनोविज्ञानलाई लिएर चलचित्र निर्माण गरिएको बताए । उनले बालकलाकार आयुष सेनको अभिनय र सम्पूर्ण चलचित्र एकदमै राम्रो बनेकोले यसअघिका चलचित्रभन्दा हिट हुनेमा विश्वस्त रहेको बताए । नायिका कुसुम गुरुङ चलचित्रमा मामुको भूमिकामा रहेकी छन् । उनले आफ्नो डेब्यु मुभीबाट निकै आशावादी रहेको बताइन् । पाँच उत्कृष्ट मामुलाई थाइल्याण्ड टुर चलचित्रका निर्माता सन्तोष सेनले देशभरिका पाँच उत्कृष्ट मामुहरुलाई आफ्नो बच्चाको साथ थाइल्याण्ड टुर गराउने भएका छन् । त्यसका लागि निर्माता सेनले ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔं’ प्रतियोगिताको घोषणा गरेका छन् । फिल्म प्रदर्शनअघि नै यो प्रतियोगिताको विजेता छानिने निर्माता सेनले जानकारी दिए । फिल्मको टिमले उपलब्ध गराएको फारममा प्रतियोगीले आफ्नो आमाको बारेमा मन छुने वाक्यांश लेख्नु पर्नेछ । टिमले मागेको फर्म्याटअनुसार २५० शब्दमा नबढाई लेख्नु पर्नेछ । फारम चलचित्र मेरी मामुको फेसबुक पेजबाट भर्न सकिनेछ । अहिले सो प्रतियोगिताको प्रचारको लागि टिम विद्यालयहरुमा समेत पुग्न शुरु गरिसकेको छ । सहभागीहरुबीचमा फिल्मका मुख्य कलाकार आयुष सेनले उत्कृष्ट पाँच विजेता घोषित गर्नेछन् । प्रतियोगितामा कक्षा १ देखि १० का सबै विद्यार्थी सहभागी हुन सक्नेछन् । पाँच विजेतासहित उनीहरुका आमालाई थाइल्याण्डको भ्रमण गराइने जानकारी निर्माता सन्तोष सेनले दिए । फिल्म मेरी मामु भने भाद्र १५ गतेदेखि प्रदर्शनमा आउनेछ ।

https://www.youtube.com/watch?v=5hAPJgPki1Y&feature=youtu.be