भद्रपुर । दुवै पक्षले मादक पदार्थ सेवन गरी भद्रपुरमा ग्याङफाइट हुँदा चारजना घाइते भएका छन् ।

शनिबार राति ११ः५५ बजे झापा भद्रपुर ६ भानु चोक बस्ने बर्ष ३१ का रुपेश झा, वडा नं ५ बस्ने बर्ष ३३ का अजय सिंह, सोही ठाउँ बस्ने बर्ष ३७ का गणेश सहनी, वडा नं ६ बस्ने बर्ष ३८ का अर्जुन कामती, उनका भाइ बर्ष ३५ का सञ्जय कामती, वडा नं ६ बस्ने बर्ष ५६ का सञ्जीव घोषबीच झडप भएको हो ।

दुवै पक्षले मादक पदार्थ सेवन गरी कुन विषयमा भनाभन भई दुई पक्षबीच कुटाकुट भएको थियो । झडपमा रुपेश झाको कानको पछाडिको भागमा काटिएको छ भने घाँटीमा चोट लागेको छ । त्यस्तै अजय सिंहको छाती र टाउकोमा चोट छ भने गणेश सहनीको बायाँ आँखाको मुनि चोट लागेको छ । तीनै जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुन कामतीको बाहिरी चोटपटक नदेखिएकोले उपचारको लागि ओम साई पाथीभरा अस्पताल लगिएको छ । वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङको टोली र जिल्ला प्रहरी कार्यालय झापाको मोबाइलसहितको टोली खटिएको थियो ।

उक्त झगडामा संलग्न सञ्जीव घोष वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा छन् । सञ्जय कामती तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा एउटा पक्षका रुपेश झा, अजय सिंह र गणेश सहनी रहेका छन् । त्यस्तै अर्को पक्षका अर्जुन कामती रहेको प्रहरीले जानकारी दिएको छ ।