विजयपुर । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट दुई राउण्ड हवाई फायर गरेर २०९ किलो ४२० ग्राम गाँजासहित पाँच जना पक्राउ परेका छन् ।

सोमबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको हो । प्रहरीलाई देख्नासाथ गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियो गाडीबाट २०९ किलो ४२० ग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र प्रसाद मण्डल, भारत बिहार मधुबनीका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन् ।

पक्राउ परेका यादव र साह दुवै स्कार्पियो गाडीका चालक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई गाँजा र दुवै गाडीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।