विराटनगर । विराटनगर-३ स्थित बाल सुधार गृहमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध छ । सुधार गृहको सुरक्षाका लागि नेपाल प्रहरीका ११ जना प्रहरी खटिएका छन् ।
नियमित चेकजाँच पनि हुन्छ । तर, प्रहरीको सुरक्षा घेराभित्रै मोबाइल फोनको पहुँच रोकिएको छैन । सोमबार बिहान प्रहरीले सुधार गृहमा छापा मार्दा ६ थान मोबाइल फोन बरामद भएपछि त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
मोरङ प्रहरीको टोलीले सोमबार बिहान गरेको जाँचका क्रममा सुधार गृहभित्र रहेका बालबिज्याइँकर्ताले लुकाएर प्रयोग गर्दै आएका ६ थान मोबाइल बरामद गरेको हो । मोबाइलसँगै सुर्तीजन्य वस्तुसमेत फेला परेको बाल सुधार गृह विराटनगरका प्रमुख सञ्जीव न्यौपानेले जानकारी दिए । “प्रशासनबाट नियमित रूपमा चेकजाँच हुने गरेको छ । सोही क्रममा सुधार गृहभित्र रहेका बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल बरामद भएका हुन्”-न्यौपानेले भने ।
सुधार गृहभित्र मोबाइल कसरी पुग्यो भन्ने प्रश्न भने अनुत्तरित छ । सुरक्षाका लागि प्रहरी खटिएको र नियमित जाँच हुने गरेको अवस्थामा मोबाइल फोन भित्रिनुले निगरानी प्रणाली प्रभावकारी नभएको देखाउँछ । बालबिज्याइँकर्तालाई भेट्न आउने आफन्तमार्फत् सुरक्षा निकायको आँखा छलेर मोबाइल भित्र पुर्याइएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि मोबाइल कसले, कसरी र कहिलेदेखि भित्र पुर्यायो भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन ।
सुधार गृहमा प्रहरी सइको कमान्डमा ११ जना प्रहरी खटिएका छन् । मोबाइल प्रयोगमा प्रतिबन्ध हुँदाहुँदै पनि पटक-पटक यस्ता सामग्री फेला पर्नुले सुधार गृहको आन्तरिक निगरानी र प्रवेश जाँचलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।
मोबाइल बरामदको घटनासँगै सुधार गृहको अर्को गम्भीर समस्या क्षमताभन्दा अत्यधिक कैदीबन्दी राखिनु पनि हो । ५० जनाको क्षमता रहेको ‘ए’ ब्लकमा १ सय ९३ जना बालबिज्याइँकर्ता राखिएका छन् । अर्थात्, क्षमताभन्दा झण्डै चार गुणा बढी बालबिज्याइँकर्ता एउटै ब्लकमा छन् ।
त्यस्तै कारागारभित्र रहेको ‘बी’ ब्लकमा ६२ जना छन् । १८ वर्ष उमेर नाघेका तथा उच्छृङ्खल गतिविधिमा संलग्न भएकाहरूलाई उक्त ब्लकमा राख्ने गरिएको छ । दुवै ब्लकमा गरी सोमबारसम्म २ सय ५५ जना रहेका छन् । सीमित क्षमताको संरचनामा यति ठूलो सङ्ख्यामा बालबिज्याइँकर्ता राखिँदा उनीहरूको व्यवस्थापन, निगरानी र सुधारका गतिविधि सञ्चालनमा चुनौती थपिएको छ ।
सुधार गृहको उद्देश्य बालबिज्याइँकर्तालाई सुरक्षित राख्नु मात्रै नभई उनीहरूको व्यवहारमा सुधार ल्याउँदै समाजमा पुनःस्थापनाका लागि तयार पार्नु पनि हो । तर, क्षमताभन्दा धेरै सङ्ख्यामा बालबिज्याइँकर्ता राखिएको र प्रतिबन्धित सामग्रीसमेत भित्रिने गरेको घटनाले सुधार गृहको व्यवस्थापन र सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
यसअघि पनि मोरङ कारागारभित्र रहेका बालबिज्याइँकर्तालाई भेट्न जाने क्रममा दुईजना युवतीको साथबाट लागुऔषध बरामद भएको थियो । सशस्त्र प्रहरीले कारागारको मुख्य गेटमा शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागुऔषध फेला पारेको थियो । भेटघाटका लागि आउने व्यक्तिमार्फत् प्रतिबन्धित सामग्री भित्रिन सक्ने जोखिम यस घटनाले पनि देखाएको थियो ।
बाल सुधार गृहभित्र मोबाइल र सुर्तीजन्य वस्तु कसरी पुगिरहेका छन् भन्ने विषयमा प्रभावकारी अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमा मिश्राले बताए ।
“बरामद गरिएका मोबाइल कसको प्रयोगमा थिए, ती कसरी भित्रिए र सुरक्षा जाँचमा कहाँ कमजोरी भयो भन्ने विषयको अनुसन्धान भइरहेको छ” उनले भने, “सुधार गृहको सुरक्षा व्यवस्थासँगै त्यहाँ रहेका बालबिज्याइँकर्ताको सुधार, संरक्षण र पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।”

































