[caption id="attachment_87829" align="aligncenter" width="570"] फायलफाेटाे[/caption]

धरान/ हिन्दु संस्कृति अनुसार साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन भए पनि लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुन थालेका छन् । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको नयाँ पुस्तामा खासै जानकारी छैन ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृृति मनाउने गरिएको छ ।