इनरुवा । इनरुवामा रहेर साहित्य सिर्जनामा पाण्डुलिपी तयार गर्ने साहित्यकार नारायण राजभण्डारीको पछिल्लो कृति लोग्ने स्वास्नी र प्रेम एक समारोहकाबिच लोर्कापण गरिएको छ ।

महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाले २ सय ५ औं भानु जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा राजभण्डारीको कृति लोर्कापण गरिएको हो । प्राडा गोपाल भण्डारीले कृति लोर्कापण गरेका हुन् ।

शुक्रवार भगवती मावि इनरुवामा आयोजित उनको कृतिमाथि साहित्यकार छविनाथ रिजाल, डमरुबल्लभ भण्डारी, सागर तिम्सिना, गोपालप्रसाद कोइराला, विष्णथापा मगर , पुरुषोत्तम घिमिरे, बिमला पोखरेल लगायतले टिप्पणी गरेका थिए ।

कबिता, कथा, स्मरण र लेखहरुको संग्रह प्रकाशित गरिसकेका राजभण्डारीले प्रकाशन गरेको लोग्ने स्वास्नी र प्रेम कृतिमा प्रेमिल क्षणहरु, बितेका यादगार पलका साथै साहित्यभित्र लुकेका प्रेम, बिवाह र यात्राका बारेमा उल्लेख गरिएको छ ।

वि.स.२००५ मा खोटाङको ऐशेलुखर्कमा जन्मनु भएका राजभण्डारीले जागरण, चुरे, सम्झनाका फूलहरु, मेची, थुङगा, समाचार जगत र हटलाइन दैनिकको सम्पादन गरिसकेका छन् ।

एक श्रीमति र दुई छोराका अभिभावक रहनु भएका राजभण्डारीले पारिवारिक जीवन गाथा र संघर्षको उतार चढावलाई समेत आफ्नो कृतिमा समावेश गरेका छन् ।