इटहरी । सुनसरीको पर्यटकीय क्षेत्र तालतलैया पुग्ने सडक जीर्ण बनेको छ । जथाभावी सडक खाल्डाखुल्डी तथा धुलाम्मे बनेका छन् । सम्बन्धित निकाय इटहरी उपमहानगरले यो सडकमा ध्यान दिन सकेको छैन । जसका कारण तालतलैया जाने आन्तरिक तथा वाह्य पर्यटकले सास्ती खेप्नुपरेको छ । अधिकांश समय आन्तरिक पर्यटकले भरिभराउ हुने तालतलैयामा सडकका कारण पनि पर्यटक घटेको तालतलैया विकास तथा संरक्षण समितिको अनुमान छ । तरहरा बजारक्षेत्रबाट प्रवेश गर्ने सडकको निर्माणाधीन पुल सम्पन्न हुन सकेको छैन । बाटोको अवस्था उस्तै छ । इटहरीबाट आउने सडकको अवस्थामा पनि उस्तै भएको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बू बताउँछन् । सडकको दुरावस्थाबारे उपमहानगरलाई जानकारी गराए पनि सडक निर्माणमा ध्यान नदिएको उनले गुनासो गरे । सडकको अवस्था देखेर धेरै पर्यटकहरु नाक खुम्च्याउने गरेको उनले बताए । इटहरी–३ का वडाअध्यक्ष बालकृष्ण विष्टले सडक जीर्ण भएका कारण सडक आसपासका स्थानीयमा रोगको सङ्क्रमण बढ्न थालेको बताए । उनले धुलाम्मे सडकमा दैनिक हिँड्ने सवारीले गर्दा धुलो, धुवाँ बढी हुने गरेकाले सर्वसाधारणलाई रोगले च्याप्न थालेको गुनासो गरे । जनताले सडक निर्माणका लागि बारम्बार आवाज उठाए पनि उपमहानगर मौन बस्दै आएको छ । तालतलैयामा दैनिक सयौं सवारी साधन गुड्ने गरेका छन् । धुलोको कारण सडक आसपासका मानिसहरु मुख छोपेर बस्ने अवस्था आएको उनले बताए । तालतलैया जाने बाटो इटहरीकै ठेकेदार कृष्ण खड्कामार्पmत् ठेक्का लागिसकेको इटहरीका वरिष्ठ इञ्जिनियर अर्जुन दाहाल बताउँछन् । ८० लाखको लागतमा ७ सय मिटर बाटो यो वर्ष बन्ने पक्का भए पनि बाँकी बाटो यो वर्ष बन्न सक्ने अवस्थामा नभएको दाहाल बताउँछन् । इटहरी चौकदेखि करिब ५ किलोमिटर बाटो अहिले खाल्डाखुल्डी र धुलाम्मे अवस्थामा भए पनि ७ सय मिटर मात्र बाटो कालोपत्रे हुने भएको हो । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले यो वर्ष बनाउन ठेक्का लागेको भन्दै अर्को वर्षदेखि समस्या नहुने जनाए । तालतलैया जाने केही भाग बाटो भने ठेक्का लागेर निर्माण हुने प्रक्रियामा गएको भन्दै पर्यटकीय क्षेत्रमा आफूहरुले विशेष ध्यान दिएको जनाए । सुनसरीको इटहरीमा अवस्थित तालतलैया घुम्न आउने तथा वनभोजस्थलको रुपमा परिचित हुँदै आएको भन्दै यसलाई व्यवस्थित गर्दै लौजानुको विकल्प नरहेको मेयर चौधरीको भनाइ छ ।

धारिँदै तालतलैया इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्रका हिसाबले जिल्लाको सबैभन्दा लोकप्रिय स्थल हो । २०७३ सालमा भएको अन्तर्राष्ट्रिय कार्यशालामा बनाइएका मूर्तिहरूले तालतलैयाको रुप फेरिएको छ । नेपालसहित जापान, जर्मनी, इजरायल, मलेसिया र भारतका ३३ मूर्तिकारहरुले २८ वटा मूर्तिहरु तालतलैयामा बनाएका छन् । त्योसँगै पार्कमा बालबालिकाको लागि चिप्लेटी, पिङ, चाकाचुलीका साथै बोटिङ, घोडचडी, जलपरि, बालमैत्री पार्क निर्माण गरिएको छ । यसक्षेत्रमा रमणीय ७ वटा ताल तथा पोखरीहरु रहेका छन् । इटहरीपूर्व रहेको जुट विकास चोकबाट ५ किलोमिटर तथा तरहरा क्षेत्रबाट ३ किलोमिटरको सडक दूरीमा तालतलैया पुगिने समितिका अध्यक्ष वीरबहादुर लिम्बूले जानकारी दिए । तालतलैयालाई अझै व्यवस्थित गरिए तालतलैया एक नम्बर प्रदेशकै प्रमुख पर्यटकीयस्थल बन्ने पक्का छ ।