धनकुटा । लेदोपानी खुवाएको विरोधमा धनकुटाबासीले मङ्गलबार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय घेराउ गरेका छन् ।
महिनौंदेखि धमिलो पानी खुवाएको विरोधमा धनकुटा–४, ५, ६ र ७ का उपभोक्ताले कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन् । ‘स्वच्छ खानेपानी जनतालाई खुवाउन नसक्ने अध्यक्ष राजीनामा दे, जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन’ लगायतको नाराबाजी गर्दै कार्यालयमा धर्ना बसेका थिए ।
उनीहरुले धारामा आएको पानी बोतलमा भरेर प्रदर्शन गर्दै अध्यक्षको कार्यकक्षमा लगेर राखेका थिए । सयौंको संख्यामा उपस्थित उपभोक्ताले धमिलो पानी आएको विषयमा पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरेको आरोप लगाए । धमिलो पानी आएको विषयमा जानकारी गराउँदा क्लोरिन नामक विषादि हालेको जवाफ दिँदै आएपछि आन्दोलित बन्नुपरेको धनकुटा–४ का उपभोक्ता कवि अधिकारीले बताए ।
धनकुटा–४ कै भैरलाल श्रेष्ठले चैत्रदेखि सफा पानी कहिले नआएको बताए । ‘धमिलो भए पनि नियमित आए त हुन्थ्यो नि, त्यो पनि आउँदैन’ –भैरवलालले भने । धनकुटा–७ जिरो पोइन्टका टेकबहादुर श्रेष्ठले आफ्नो धारामा पानी नआएको १ महिनाभन्दा बढी भएको बताए । टेकबहादुरले भने, ‘पानी आए पनि मध्यरातमा मात्र आउँछ, त्यो पनि धमिलो ।’ अर्का उपभोक्ता धनकुटा–४ स्कुल डाँडा गुम्बा चौताराका रामबहादुर ब्लोनले पनि आफू खानेपानीको ट्याङ्की नजिकै घर भएर पनि धारामा पानी नआएको १५ दिनभन्दा बढी भएको बताए ।
क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा पानी नभएका कारण स्वास्थ्यका सबैखाले तालिम हिजोआज विराटनगरमा हुने गरेको पनि खुलासा गरे ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष द्रोणप्रसाद गुरागाईंले पानी तान्ने पम्प बिग्रिएको कारण नियमित पानी नआएको र मोटर बाटो खन्ने क्रममा डोजरले खानेपानीको पाइपलाइन बिगारेकाले धमिलो पानी आएको बताए । उनले ३७ दिनदेखि एउटा लाइनको पाइप डोजरले बिगारेको बताए । साथै पानी फिल्टर गर्नको लागि भारतबाट ४० लाख रुपैयाँ तिरेर खानेपानीको फिल्टर ट्याङ्की ल्याए पनि फिल्टरले काम नगरेको कारण पानी धमिलो आएको अध्यक्ष गुरागाईंले स्वीकारे । धनकुटा नगर क्षेत्रमा ३ हजार ६ सयभन्दा बढी खानेपानी उपभोक्ताको धारा वितरण गरिएको छ ।
विश्व बैंकको सहयोग र स्थानीय उपभोक्ताहरुको लगानीमा २ वर्षअघि निबुवा दोभानबाट लिफ्टबाट पम्पिङ गरेर २७ करोडको आयोजना सञ्चालनमा आएको थियो । आयोजना सञ्चालनपूर्व २४ सै घण्टा सफा पानी खुवाउने भनिएको थियो ।