भद्रपुर । कारोबारीले अवैध रुपमा निकासी तथा पैठारी गदै गरेको ५८ हजार मूल्य बराबरको लत्ता कपडा तथा चाइनिज स्याउ प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी गस्ती टोलीले सोमबार राती र मंगलबार दिउँसो भद्रपुरको मेची पुल र बक्सरभिट्टाबाट सामान बरामद गरेको हो ।
भारतबाट मेचीपुल हुदै भद्रपुर ल्याउदै गरेको अवस्थामा फेला पारेको कुर्ता,झुल र पर्दा गरि ४० हजारको कपडा बरामद गरिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए । बरामद गरिएको कपडा भद्रपुरका व्यापारीको रहेको बुझिएको छ । त्यसैगरि गएराती नेपालबाट भारत तर्फ लैजादै गरेको १ सय ८० किलो चाइनिज स्याउ पनि बरामद गरिएको जबेगूले बताए ।
बरामद स्याउको अनुमानित मूल्य १८ हजार रहेको उनले बताए । आवश्यक कार्वाहीका लागि सामानलाई मंगलबार मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको उनले जानकारी दिए । भद्रपुरमा दिउँसै कारोबारी सलबलाएपछि प्रहरीलाई चुनौति थपिएको छ ।