शनिश्चरे । विश्व वातवरण दिवसको सन्दर्भ पारेर मंगलवार झापाको दमक नगरका विभिन्न ठाउँमा फुल तथा विरुवा रोप्ने काम भएको छ ।
नगरपालिका र दमक उद्योग वाणिज्य संघले दमक ६ को पशुहाटबाट हनुमान मन्दिरसम्मको सडकमा फूल सहितका ८० वटा गमला निःशुल्क वितरण गरेको छ ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, वडाध्यक्ष भीम पौड्याल, रेडक्रस दमकका निवर्तमान सभापति लिला गुरागाइ लगायतको उपस्थितिमा सडकको दूइ किनारमा गमला सहितको फूल रोप्ने अभियान शुरु गरिएको हो । दमक नगरलाई हरित नगर वनाउने घोषणा अनुरुप वातावरण दिवशको सन्दर्भ समेत पारेर हरित नगरको अभियानलाई जोडिएको नगर उपप्रमुख अधिकारीले उल्लेख गरिन् ।
त्यस्तै, कन्काई विकास वैंकले हंम्से दुम्से, ३ नम्वर वडा कार्यालय परिसर र चुलाचुली आधारभूत विद्यालय परिसरमा लिच्ची, आँप र कटहर गरी २ सय वटा विरुवा रोप्ने काम गरेको छ ।
दमक ५ को हरिओम कोलेनी टोल विकास संस्थाले कोलेनी वरिपरी ६१ वटा फूल सहितका विरुवा रोपेको छ ।
उता, जिल्लाको वीरता जेसीजले साइकल र्याली तथा विर्तामोडको उद्योगमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, सके पुनः प्रयोग नसके बहिष्कार गरौं’ भन्ने नाराका साथ वीरता जेसीजको आयोजनामा साइकल र्यालीसहित बिर्तामोड–२ स्थित कञ्चनजंघा सिमेन्ट उद्योग प्रालि परिसरमा वृक्षरोपण गरिएको हो । जिल्ला वन कार्यालय झापाले उपलब्ध गराएको सिरिस र मलेसियन साखका १ सय वटा भन्दा बढी बिरुवा रोपिएको हो । बिर्तामोडस्थित वीरता जेसीजको सचिवालयबाट जेसीज तथा सामाजिक संघ–संस्था, विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागितामा शुरु भएको साइकल र्याली चारपाने हुँदै बिर्तामोड–२ स्थित कञ्चनजंघा सिमेन्ट उद्योग प्रालिको परिसरमा सभामा परिणत भएको थियो ।
कार्यक्रममा कञ्चनजंघा सिमेन्ट उद्योग प्रालिका सञ्चालक मिनप्रकाश मैनालीले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गर्दै उद्योगमा हुने वातावरण प्रदुषणलाई वृक्षरोपणले रोक्ने बताए । उनले वीरता जेसीजले गरेको वृक्षरोपणको संरक्षण गरेर हरियालीमय वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले बिर्तामोड नगरपालिकामा रहेका प्रत्येक उद्योग तथा कलकारखानाहरुमा वृक्षारोपण गर्न बिर्तामोड नगरपालिकासँग माग समेत गरेको जेसीजका अध्यक्ष एकराज गिरीले जनाए । अध्यक्ष गिरीले वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी वातावरण प्रदुषण गर्ने हरेक उद्योगले वातावरण प्रदुषण नियन्त्रणका लागि वृक्षरोपण गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैबीच वीरता जेसीजको सहयोगमा मेचीनगर नगरपालिका–१२ स्थित युनिक इङ्लिस बोर्डिङ स्कूलमा वृक्षरोपण गरिएको छ । उक्त विद्यालयको परिसरमा ७० वटा बिरुवा रोपण गरिएको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद रिमालले जानकारी दिए ।