भद्रपुर । भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरू जनभावना विपरित चल्न थालेको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् ।
स्थानीय निर्वाचनमा गरेका प्रतिबद्धता विपरित नगरका जनप्रतिनिधिहरू जान थालेको भन्दै नगरबासी उनिहरुप्रति गुनासो गर्न थालेका हुन् ।
सिंहदरवारको अधिकार घरघर पुर्याउने भन्दै लोकतान्त्रिक आचरण र पारदर्शी जनसेवा दिने प्रतिबद्धता लिएर निर्वाचनमा जीत हात पारेका जनप्रतिनिधिका अधिकाम्स कार्य अपारदर्शी बन्दै गएको छ । पछिल्लोपटक भद्रपुर २ नम्बर वडाध्यक्ष भीमबहादुर सुब्बाले वडामा विकास निर्माणका योजना कार्यान्वयनमा अपारदर्शी काम गरेको आरोप लागेको छ । स्थानीय वडाबासीका अनुसार वडाध्यक्ष सुब्बाले वडाका बाटामा ग्राभेलिङ्ग गर्दा बाटा छेउका स्थानीयलाई जानकारी नै नदिइ अर्कै टोलको मान्छेलाई उपभोक्ता समिति बनाएको आरोप छ । स्थानीय इन्दीरा राईका अनुसार वडाध्यक्ष सुब्बाले बाटामा सरोकार राख्ने उपभोक्तालाई जानकारी नै नदिई आफ्ना निकटका कार्यकर्तालाई समितिमा राखेर मिक्स गिटी पुर्न भन्दै बालुवा हालेको आरोप लगाइन । लाखौं रकम विना प्रतिष्पर्धा वितरण गरेको उनको आरोप छ । आफ्नो घर अगाडी बन्दै गरेको बाटो आफैलाई थाहा नभएको उनको भनाई छ । अर्का स्थानीय युवा तथा तरुणदल झापा क्षेत्र नम्बर ३ का सभापति खड्गबहादुर लिम्बूले पारदर्शी विकासका काम गर्न वडाध्यक्ष सुब्बा असफल भएको भन्दै गल्ति सच्याएर जनसहभागितामा आधारित काम हुनु पर्ने बताउँछन् । विकास निर्माण लगायत जुनसुकै काम गर्न सम्बन्धित उपभोक्ताको सहभागिता बिना नै काम गर्नु अलोकतान्त्रीक भएको आरोप लगाए ।
वडाध्यक्ष भीमबहादुर सुब्बा भने स्थानीय सरोकारवाला नागरिकलाई राखेर पारदर्शी ढंगले बाटा स्तरीकरणका काम गरिरहेको दाबी गर्छन् । उनका अनुसार स्तरीकरणका काम भइ रहेका हरेक सडक आसपासका बासिन्दा सहभागी गराएर उपभोक्ता समिति गठन गरी काम भइ रहेको दाबी गरे । वडा अध्यक्ष एक्लैलेमात्र सवैतिर पुग्न नसकेकोले विकासको काममा सवै एकजुट हुनु पर्ने बताए । आफूले नियम बिपरित कार्य गरेको पुष्टी भएमा जुनसुकै कार्वाही भोग्न तयार रहेको उनको भनाई छ । भद्रपुर २ चारआली चौकदेखि देउनिया पुलसम्मको २ लिोमिटर बाटोको खाल्डा खुल्डी पुर्नको लागि एक लाख रकम विनियोजन भएको अध्यक्ष सुब्बाले जनाए ।