काठमाडौं । केहि दिन यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो ।
भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली मुद्राको भाउ खस्किदै गएको हो । बुधबार नेपाल राष्ट्र बैंकले प्रतिअमेरिकी डलर १०९ रुपैयाँ २२ पैसा बिक्रीदर र १ सय ८.६२ पैसा खरिद दर तोकेको छ ।
भारतीय अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्र मजबुत हुँदै गएपछि पछिल्लो समय डलरको भाउ बढ्दै गएको हो । साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउलाई बढाएको छ ।
यसअघि २०७२ सालमा अमेरिकी डलरको भाउ १०९ रुपैयाँ ४८ पैसासम्म पुगेको थियो । अहिले फेरि डलरको भाउ उच्च बिन्दु नजिक आइपुगेको छ ।
पुस मध्यतिर १०२ रुपैयाँ बिक्रीदर रहेको डलर माघ मध्यतिरदेखि बढ्न सुरु गरेको हो । १८ माघमा प्रतिडलर १ सय ४ रुपैयाँ कायम रहेको डलरको भाउ २२ वैशाखमा १०७ पुगेको थियो । बुधबार १०८.६२ रुपैयाँ पुगेको छ ।
२०१६ जनवरीमा पनि यसको भाउ आकासिएको थियो । त्यसबेला राष्ट्र बैंकले बिक्रीदर प्रतिअमेरिकी डलर १०९.१४ र खरिद दर १०८.५४ रुपैयाँ कायम गरेको थियो ।