बेलबारी । बेलबारी नगरपालिकाले पूर्वपश्चित सडक खण्डलाई मिचेर बनाएका टहरा, पर्खाल तथा छाप्राहरु मंगलवार हटाएका छन् । नगरको सो कार्यको स्थानीयवासीले प्रसंशा गरेको छ भने नगरको कार्यशैली प्रति असन्तुष्ट जनाउदै अवरोध पनि भएको थियो । सडक अतिक्रम गरेर साढे ८२ फिट भित्र बनाएका टहरा,छाप्रा तथा व्यवसायिक संरचनाहरु नगरपालिकाले जेसीभी प्रयोग गरेर हटाएका हुन् । नगरपालिकाले सडकलाई अवरोध पु¥याउने संरचनाहरु हटाउन चैत्र ११ गते सूचना जारी गरि २१ दिनको अल्टिमेटम दिएको थियो । नगरपालिकाले स्थानीय पत्रपत्रिका, रेडियो साथै माईकिङ गरेर सुचना जारी गरेको थियो । पटक पटकको सूचनाको अवज्ञा गरेको भन्दै नगरपालिकाले नगरका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाका पराजुली तथा प्रवक्ता योगेन्द्र सुवेदी लगायत स्थानीय प्रहरी प्रशासनको उपस्थितिमा ति टहराहरु भत्काईएका थिए । बेलबारी र सुन्दरहरैंचाको सिमानाबाट साढे बयासी फिटलाई दायाँ वायाँ सफा गर्ने कार्य शुरु भएको थियो । नगरले सडकलाई खुला गर्नका लागि चालिएको कदम प्रति स्थानीय नागरिकले सकारात्मक रुपमा लिएका छन् । तर बेलबारी २ स्थित लालभित्ती चोकका घर टहरा हटाउने क्रममा स्थानीयबाट अवरोध सृजना भएको थियो । स्थानीयको अवरोधले नगरको कार्य एकछिन रोकिएको थियो । स्थानीय नागरिक संग छलफल नगरि र कम्तीमा २४ घण्टे अल्टिमेटम नदिई डोजर चलाईएकोमा स्थानीयले अवरोध सृजना गरेका थिए । स्थानीयको अवरोध पश्चात झडपको स्थिति बनेको थियो । नगरपालिकाले थप सुरक्षावल थपेर अभियानलाई निरन्तरता दिएका थिए । तर साढे बयासी फिट नाप्ने आधारको विषयमा केहि स्थानीयहरुले प्रश्न खडा गरेका छन् । सडकको वीचको सेतो धर्का नै सडकको जग्गाको बीच कसरी पर्न गयो त्यो त पीचलाई आधार मानेर तयार पारिएको स्थानीयको तर्क रहेको छ । सडकको अवरोध हटाउने क्रममा थापाचोकको शिवालय मन्दिर र लालभित्ती स्थित पुलमुनी बनेका घरलाई पनि स्थानन्तरको समय दिएको छ । बाँकी किस्तीपुल देखि लालभित्तीका सडक भित्रका संरचनाहरु नगरपालिकाले अवरोधहरु हटाएका छन् ।