पानवारी । तीन दिने इलाम टि एक्स्पोमा अवलोकनकर्ताहरुको उपस्थिति शुन्य देखिएपछि एक्पोका स्टल व्यवसायीहरु आक्रोसित भएका छन् ।

शुक्रबार धरानमा सम्पन्न भएको इलाम टि एक्स्पोमा नगन्य मात्रामा अवलोकनकर्ताहरु आएकोले एक्स्पोमा व्यापार तथा प्रबद्र्धन समेत नभएको व्यवसायीहरुले गुनासो गरेका थिए ।

धरान र इलामबीच भगिनी सम्बन्ध सुरुवात भएपछि सो सम्बन्धलाई मूर्त रुप दिन भन्दै दुवै नगरको आयोजनामा भएको पहिलो कार्यक्रम नै असफल भएको इलामबाट चियाको उत्पादन लिएर धरान आइपुगेका व्यवसायी डम्बर खत्रीले बताए । ‘धरान भनेको उच्च वर्ग, स्वास्थ्यमा सचेत नागरिकको बसोबास रहेको सहर भनेर हामीले बुझेका थियौ तर यस्तो पाइएन ।’ एक्स्पोमा २० वटा चियाको स्टल रहने आयोजकले दाबी गरेको थियो तर एक्स्पोमा चियाको १० वटा मात्र स्टल रहेको छ । ‘धरानका नागरिकलाई सुहाउदो ग्रिन टि, ह्वाइट टि, गोल्डेन टि तथा ब्ल्याक टि जस्ता विभिन्न प्रकारका चिया लिएर धरान आइपुगेको व्यापार होला भन्ने आशा थियो तर यहाँ त व्यापारको त परको कुरा भिजिटर शुन्य भएपछि प्रबद्र्धन समेत भएन ।’– ग्रीन हिल प्रशोधन अर्थाेडक्स चिया उद्योगकी कल्पना दाहालले भनिन् । भिजिटर नआएपछि इलामबाट आएका व्यवसायीहरु निराश देखिएका थिए ।

इलामबाट दुग्धजन्य परिकार लिएर धरान आइपुगेकी एक व्यवसायीले भनिन् ‘धन्न हामीलाई आउने जाने यातायातको सुविधा र यहाँ बस्न आवासको सुविधा इलाम नगरपालिकाले गरिदियो नत्र त बिजोग नै हुने रहेछ । व्यापार त भएन भएन हाम्रो उत्पादनबारे उपभोक्तालाई जानकारी समेत दिन पाएनौ ।’

विगतमा बुटलवल, काठमाडौ तथा विराटनगरमा भएको मेलाहरुमा उल्लेख्य व्यापार भएको र इलामको चियाको प्रबद्र्धन समेत एकदमै राम्ररी भएको स्मरण गर्दै कञ्चनजंघा अर्गानिक अर्थाेडक्स चिया उद्योगका डम्बर खत्रीले भने –‘धरानमा चियाका पारखीहरु धेरै रहेको मैले यस अघि नै पाएको थिए तर आयोजकले प्रचार प्रसार नगरेर हो वा नजानेर मेला अवलोकन गर्न कोही आएनन् ।’ उनले अवलोकन कर्ता ल्याउन नसकेको भन्दै मेला आयोजकसँग गुनासो गर्दै भने –‘अवलोकनकर्ता त आएनन् आएनन् तर आयोजकहरुले समेत उद्घाटन कार्यक्रम भन्दा पछाडि मेलामा फकिएर नआएको र व्यवसायको बारेमा नबुझेको भन्दै आक्रोस पोखेका थिए ।’ मेलामा राखिएको सचिवालयमा समेत कोही नभएको भन्दै आफुहरुले कुरा राख्ने ठाउँ समेत नपाएको गुनासो गरेका थिए ।