पानवारी । धरानमा बुधबारदेखि सुरु भएको ‘इलाम टि एक्स्पो २०७५’ मा प्रमुख अतिथिको रुपमा आइपुगेका पूर्व सभामुख सुवासचन्द्र्र नेम्बाङले धरान उपमहानगरपालिका र इलाम नगरपालिकाबीच स्थापित गरिएको भगिनी सम्बन्धको चर्चा गरेका छन् ।
नेम्बाङले भगिनी सम्बन्धले इलाम र धरान दुवै शहरलाई फाइदा पुग्ने भन्दै यस्तो सम्बन्धले इलाममा धरान नगरको र धरानमा इलाम नगरको चर्चा हुने एक आपसको सम्बन्धले दुवै नगरको व्यापारीक गतिविधि लगायत पर्यटनको गतिविधिमा उल्लेख्य वृद्धि हुने बताएका छन् । उनले दुवै नगरले स्थापित गरेको भगिनी सम्बन्धले आफुले उत्पादन गरेको सामाग्रीको प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने समेत नेम्बाङले बताए ।
तीन दिनसम्म चल्ने इलाम टि एक्स्पो २०७५ को बुधबार उद्घाटन गर्दै नेम्बाङले एक्स्पोले इलाममा उत्पादन भएको बस्तुहरु धरानका जनताले सहजै उपभोग गर्न पाउने र इलामका व्यवसायीहरुले आफ्नो उत्पादनको सहज प्रबद्र्धन गर्न पाउने बताएका थिए ।
नेम्बाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफुले २ वर्ष अघि संसदमा इलामको चिया झिकाएर खुवाएको सम्झना सुनाएका थिए । उनले भने –‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा सम्बोधन गर्ने समयमा काठमाडौको सोल्टी होटलबाट स्पेशल इलामको ग्रिन टि मगाएर खुवाएको थिए र त्यसबेला उहाँलाई यो दार्जिलिङको सिमानामा पर्ने नेपालको प्रसिद्ध चिया इलामको ग्रिन टि हो भनेर समेत बताएको थिए ।’ फरक प्रसंगमा बोल्दै पूर्व सभामुख नेम्बाङले नेकपा एमालेले चुनाव अघि गरेको प्रतिबद्धताहरु जिम्मेवारी ढंगले पुरा गर्दै गइरहेको बताएका छन् । उनले भने –‘यसअघि गरिएको प्रतिबद्धताहरु जिम्मेवारी पूर्वक निर्वाह गर्दै गइरहेका छौ, त्यसको पछिल्लो उदाहरण जनपद र ससस्त्र प्रहरीको आइजिपि नियुक्तीको कार्य जुन सरकारले विवाद रहित गरेको छ ।’ उनले संविधानलाई ठोस रुपमा कार्यान्वयन गर्दै गइरहेको दाबी समेत गरेका छन् । ९० प्रतिशत भन्दा बढीले अनुमोदन गरेर ल्याएको संविधान कार्यान्वयन हुदा सत प्रतिशतले कार्यान्वयन गरेको बताए । उनले भने अघि संसदीय निर्वाचन, स्थानीय तथा संसद र सरकारमा भएका निर्वाचनहरुमा सबै राजनीतिक दलहरुले भाग लिएको भन्दै संविधान कार्यान्वयनमा सबै लागि परेको दाबी गरे ।
बुधबार भएको उद्घाटन कार्यक्रममा बोल्दै इलाम नगरपालिकाका मेयर महेस बस्नेतले इलाम र धरानबीच भएको भगिनी सम्बन्धबाट दुवै नगरले फाइदा लिनुपर्नेमा जोड दिए । उनले भने –‘इलाममा उत्पादन भएको चिया धरानको मिठो पानीसँग मिसाएर एउटा स्वर्णीम स्वाद लिने अवसर जुटेको छ, यसबाट हामी दुवै नगरबासी लाभान्वित हुनेछौ ।’ त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले भगिनी सम्बन्धको सुरुवात स्वरुप पहिलो कार्यक्रम भएको भन्दै कार्यक्रमलाई सफल बनाउन सबै नगरबासीलाई आह्वान समेत गरेका थिए ।
इलामको चियादेखि धरानको बेसारसम्म प्रदर्शनिमा
बुधबारदेखि सुरु भएको एक्स्पोमा इलामका चियाका विभिन्न प्रकारहरु रहेका छन् । एक्स्पोमा ३० वटा भन्दा बढी स्टलहरु रहेका छन् भने त्यसमा २० वटामा इलामका विभिन्न ब्राण्डका चियाहरु रहेका छन् । जसमा ग्रिन टि, ह्वाइट टि, गोल्डेन टि लगायत ब्ल्याक टि समेत राखिएको छ । त्यस्तै इलामको दुग्ध उत्पादनहरु ललिपप, छुर्पि, मिठाई लगायत समेत रहेको छ । त्यस्तै गरी इलामको अकबरे खोर्सानि, अल्लोको कोट, टोपी, जुत्ता, ढाकाको कपडा, हस्तकलाका सामान, सातु लगायतका उत्पादनहरु प्रदर्शनि तथा विक्रिका लागि राखिएको छ । त्यस्तै इलामको पर्यटकिय स्थलहरुको फोटो समेत प्रदर्शनिमा राखिएको छ । धरानमा उत्पादन भएको बेसार तथा अर्गानिक तरकारीहरु, हस्तकलाका सामानहरु समेत प्रदर्शनिमा राखिएको छ ।