पानवारी । सोमबारबाट सुरु भएको किराँतीहरुको महान् चाड उभौली मंगलबार पनि साकेला सिली नाचर मनाइएको छ । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरानको भानुचोकमा भएको साकेला सिलीमा धरानका किरातीहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो । प्रारम्भिक कार्यसमिति वडा न.९ र १० को संयोजनमा गरिएको साकेला सिलिमा इटहरीको एउटा समुह र धरानका १२ वटा समुह गरी १३ समुहले धरानको भानुचोकमा साकेला सिलि प्रदर्शन गरेका थिए । साकेला सिलिमा झ्याम्टा, ढोल बजाएर एक आपसमा गोलो आकार बनाएर साकेला सिलि नृत्य प्रदर्शन भएको थियो । भानुचोकमा भएको औपचारीक कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष तिलक राई, भाषाविद प्रा.डा.टंक न्यौपाने लगायतले सम्बोधन गरेका थिए । प्रमुख अतिथि समेत रहेका केन्द्रीय राईले भने–‘यस वर्ष प्रदेश नम्बर १ को नामाकरण किराँत प्रदेश राख्नुपर्ने माग गर्दै पर्व मनाइरहेका छौं । प्रदेश न.१ लाई ऐतिहासिकता, सभ्यता, सँस्कृति, भुगोल, जनसंख्या तथा पहिचानको आधारमा किराँत प्रदेश नामाकरण हुनुपर्ने दाबी गरेका थिए । किराया धरान उपमहानगर समितिका अध्यक्ष लोकेन्द्र राईले प्रकृतीका पुजारी किराँती समुदायले बैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागास, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै उभौली पर्व मनाउँने गरेको बताए । यस वर्षको उभौली किरात राईहरुले पहिचान र सांस्कृतिक अभियानको रुपमा राजनितिक मुद्धालाई अघि सार्दै मनाएको समेत उनले जनाए । उनले भने–‘परम्परागत भेषभुषामा सजिएका किराँती समुदायले गोलबन्द भएर महिला–पुरुषसँगै साकेला नृत्य गर्दछन् ।’ आगामि जेठ ५ गते किराँत राई यायोक्खा जिल्ला समितिको आयोजनामा धरान–१७ स्थित साकेला पार्कमा साकेला शिलि प्रदर्शनि प्रतियोगितामा सुनसरी भरिका ४३ वटा प्रारम्भिक कार्य समितिले प्रतिष्पर्धा गर्ने र सो प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने समुहलाई पुरस्कृत गरिने अध्यक्ष लोकेन्द्र राईले बताए ।