विराटनगर/ प्रदेश १ को सरकारले गत चैत २९ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७४–०७५ को तीन महिनाको बजेटमा कम्युनिष्ट गन्ध आएको भन्दै विपक्षी दलले विरोध गरेका छन् ।
प्रदेशसभाको मंगलबार बसेको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै कांग्रेसका सांसद शेखरचन्द्र थापाले बजेटले राजधानीको संरचना निर्माणका लागि बजेट नछ्ट्याएको, आम्दानी काहाँबाट गर्ने भन्ने विषयको पहिचान नगरेको भन्दै आलोचना गरे ।
बजेटमा बामपन्थीको चुनावको घोषणा पत्रअनुसार बजेट विनियोजन गर्ने उल्लेख गरेको भन्दै उनले आलोचना गरे । थापाले समाजवाद उन्मुख बजेट भनिएको भएपनि कनिका छरेजस्तो बजेटले समाजवाद नआउने दाबी गरे ।
विपक्षी दलले उठाएका विषयमा जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अनुदानको बजेट भएको र कानून निर्माण गर्ने क्रममा भएको कारण सबै विषय समेट्न नसकिएको बताए ।
मन्त्री आङ्बोले आगामि दिनमा सांसदहरुले उठाएका विषयलाई समेट्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभामा प्रस्तुत विनियोजित विधेयक माथि भोलि पनि छलफल हुने संसद सचिवालयले जनाएको छ । सांसदहरुले आ–आफ्ना धारणा राखेपछि आज बुधबार बस्ने संसदको बैठकले बजेट पारित हुनेछ ।