पानवारी । कार्यक्रमहरुमा ब्यवस्थित सौचालय नहुनुले वर्षौ अघि खुलादिसा मुक्त बनेको धरानलाई कुरी कुरी गरिरहेको छ । धरान खुलादिसा मुक्त भएको ७ वर्ष बिति सकेको छ । तर, धरानमा हुने कुनै पनि कार्यक्रमहरुमा शौचालयको व्यवस्था गरिएको पाइदैन । जसले गर्दा खुलादिसा मुक्त कार्यक्रम कार्यान्वयनलाई प्रश्न चिन्ह त उठाउछ नै साथै धरानलाई नै गिज्याएको पनि छ ।
यसका दृष्टान्तहरु खोज्न टाढा जानु पर्दैन । माघ २७ गते सम्पन्न बुढासुब्बा गोल्डकप त्यसको ज्वलन्त उदाहरण हो । जहाँ एक स्कुलका छात्राहरु त्यसको प्रत्यक्ष मारमा परे ।

बुढासुब्बा गाेल्डकपमा अापत
गत महिना सम्पन्न भएको बुढासुब्बा गोल्डकपमा एक विद्यालयका शिक्षकलाई १०–१२ जना छात्राहरुले घेरीरहेका थिए । एकदमै तनावमा जस्तो देखिएका शिक्षक उम्कने प्रयास गर्दै थिए । कारण रहेछ एउटा स्कुलबाट आएका विद्यार्थीहरु पिसाबले च्यापेपछि शिक्षकसँग शौचालयको खोजी गरिरहेको । अन्त्यमा एकपटकमा एकजनाले मात्र प्रयोग गर्ने रंगशालाको शौचालयमा एकैपटक ५÷६ जना पसे । शौचालय अभावले शिक्षकलाई आधा घण्टा भन्दा बढी तनाब भएको बताए भने विद्यार्थीलाई कति गाह्रो भयो होला ?
फुड फेस्टीवलमा उस्तैः
परिवार सहित फुड फेस्टिबल घुम्न पुगेका धरान–८ का विशाल श्रेष्ठ घुम्न नपाई फर्कनु प¥यो । फुड फेस्टिभलमा पुगेर खाजा खाएको मात्र के थिए । पेट कटक्कै काट्यो, भर्खर श्रीमती र बावुलाई लिएर महिनौ पछी घरबाहिर निस्केको मुस्किलले १५ मिनेट बसे । सहनै नसक्ने भएपछि हतार हतार घर (चतरालाइनबाट बरगाछी) आइहाल्नु प¥यो । उनले धेरै दिनपछि श्रीमतीसँगै घुम्ने उनको धोको एउटा शौचालयको व्यवस्था नगरी कार्यक्रम आयोजना हुदा पुरा हुन सकेन ।
विपुल क्षेत्रीलाई भेट्ने आशा अधुरै
विपुल क्षेत्रीको कन्सर्ट धरानमा हुन्छ भन्ने सुनेको दिनदेखि कन्सर्टको पर्खाइमा रहेकी एक युवतीको आशा अधुरै रह्यो । त्यसको कारण शौचालय नै भयो । युट्युबमा बिपुल क्षेत्रीको गीत सुनेर नअघाउने म वास्तवमा विपुल क्षेत्रीको कन्सर्ट धरानमै हेर्न पाउदा उत्साहित भएकी उनी विपुल क्षेत्रीको कन्सर्ट हुने बेलुकी साथीहरुसँग बेलैमा पब्लिक स्कुलको मैदान पुगेकि थिइन् । करिब ४ घण्टा वितिसक्दा पनि विपुल क्षेत्रीको प्रस्तुतीको पालो नआएपछि उनी लगायत ४ जनाको टिम नै विपुल क्षेत्रीको प्रस्तुती नहेरी फर्किए । कारण थियो पिशावले च्यापेर बस्नै नसक्नु ।
धरान उपमहानगरपालिका भित्र वर्षेनी धेरै कार्यक्रमहरु आयोजना हुने गर्दछ । धरान उपमहानगरपालिकाको तथ्याङ्कमा मात्रै ९ वटा साँस्कृतिक कार्यक्रम भएको छ भने साँस्कृतिक कार्यक्रमको अलावा त्यसको दोब्बर कार्यक्रम उपमहानगरपालिकालाई आधिकारीक जानकारी नदिइ हुने गरेको छ ।
शौचालय नहुँदा विशेष गरेर महिलाहरुलाई एकदमै अफ्टेरो परेको हुन्छ । एउटा शौचालय नहुँदा महिलाहरुको पीडा शब्दमा पोख्न नसकिने महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्य भन्छिन् । उनी भन्छीन् ‘हामी महिला विभिन्न कार्यक्रममा पुग्दा शौचालयकै कारण चाहेजती समय बस्न सक्देनौ ।’ ‘एक त धरानमा सार्वजनिक शौचालय छदै छैन भएका पनि प्रयोग गर्न नसक्ने दुर्गन्धीत र महिलामैत्री छैनन् । अतिथी भएर कार्यक्रममा पुग्दा त हामीलाई असहज हुन्छ भने साधारण हैसियतमा कार्यक्रम पुग्दा के होला ?’ उनले कुनै पनि कार्यक्रम होस् वा मेला, प्रदर्शनी अब अलि बढी मानिसहरु भिड हुने कार्यक्रम गर्दा आयोजकले अनिवार्य शौचालयको व्यवस्थ गर्नुपर्ने अवस्था आएको भन्दै विकल्पमा ‘घुम्ति शौचालय’ हुनसक्ने बताइन् ।
पर्याप्त शौचालय नहुदा धरानमा समस्या रहेको प्रा.डा. भीम खतिवडाले बताए । उनले भने –‘सहरमा बढेको भिडसँगै शौचालयको व्यवस्था हुनुपर्ने हो । यसमा स्थानीय सरकारको ध्यान जानुपर्ने देखिएको छ । विशेष गरी सभा सम्मेलन, मेला, प्रदर्शनिहरुमा ‘घुम्ति शौचालय’ को एकदमै आवश्यकता देखिएको छ ।’ शौचालय नहुदा कार्यक्रम सकिएपछि एकदमै फोहोर हुने गरेको देखिदै आएको खतिवडाले बताए ।
प्रादेशिक महोत्सवमा शौचालयको दुर्गती
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेदेखि भइरहेको प्रादेशिक महोत्सवमा ५ लाखले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ । महोत्सवमा धरानका मात्र नभई पुरै १ नं. प्रदेशका उपभोक्ताले अवालोकन गर्ने जनाइएको छ । महोत्सवमा काठमाडौ, पोखरादेखि इलामसम्मका व्यवसायीहरुले स्टल राखेका छन् । महोत्सवले १ नं. प्रदेशको गरिमा राख्ने भन्दै आयोजकले दाबी गरेको छ । तर महोत्सवमा एउटा शौचालय व्यवस्थित छैन । शौचालय फोहोरले जाम भएको छ भने प्लाष्टिकका बोतलले भरिएको छ ।
आयोजक सुनसरी उद्योग वाणिज्य संघले गरेको पछिल्लो पत्रकार सम्मेलनमा शौचालयको कुरा उठ्दा संघका महासचिवले तुरुन्त त्यसको व्यवस्था गर्ने बताएका थिए तर अहिलेसम्म शौचालयको हालत जस्ताको तस्तै छ ।