मोरङ/ झापाको दमकस्थित सुरभि कलाकेन्द्रले आफ्नौ चौथो वार्षिकोत्सवका अवसरमा शनिवार नेपाल र भारतका गीतसंगीतका ६ जना स्रष्टालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा भारतको दार्जीलिङका पुराना संगीतकर्मी प्रदीप क्षेत्री, खरसाङका गोविन्दवहादुर घतानी, दार्जीलिङकी गायिका सोनु राई छन् । त्यसैगरी, सुरभिबाट गीतसंगीत सिकेर चर्चामा आएका गायिका मेनुका पौडेल, सम्झना ओली, सुनिता थेगिमलाई पनि सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार शिवशंकर थापा, प्रसिद्ध लोक गायक एलपी जोशी, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी र कलाकेन्द्रका प्रमुख अनिल फागोले स्रष्टाहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका हुन् । दार्जीलिङबाट आएर फागोले गीतसंगीतको उर्जा भरेको भन्दै अतिथि वक्ताहरुले उनको प्रशंसा गरेका छन् ।

सो अवसरमा कलाकारहरुले आफ्ना सांगीतिक प्रस्तुति समेत दिएका छन् ।