नेपाली सिनेक्षेत्रको ईतिहासलाई हेर्ने हो भने बलिउड फिल्महरुले नेपाली चलचित्रहरुलाई माथि उठ्नै नदिएको अवस्था पनि थियो तर आजभोली त्यो अवस्था छैन । ६२/६३ को जनआन्दोलनपछि धरासयी बनेको नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका नायकहरुको आगमनसंगै नेपाली चलचित्रहरुले बरु बलिउड फिल्मलाई बिस्थापित गर्न सफल भएको छ ।

‘वडा नम्बर ६’ बाट सुरुवात भएको यो सिलसिला ‘कृ’ सम्म पनि कायम नै रह्यो । अनमोलको बहुप्रतिक्षित चलचित्र कृ र अक्षयकुमारको प्याडम्यान जुधेपछि धेरैले ‘कृ’ लाई धेरै असर पर्ने अनुमान गरेका थिए । किनकी अक्षयको ‘प्याडम्यान’ को चर्चा पनि कम थिएन । तर त्यो अनुमानलाई सुरुवातमा नै ‘कृ’ को बुकिङले निस्तेज जस्तै पारेको थियो ।

अन्तत महंगो बजेमा बन्ने गरेको बलिउड फिल्मदेखि डराउँने नेपाली चलचित्रले नै कडा चुनौती दिँदै दर्शकको मन जित्न सफल भएको छ । ‘कृ’ को धमाकेदार कलेक्सनले ‘प्याडम्यान’ लाई आथ्थु-आथ्थु पारेको छ । दुई दिनमा नै करिब करिब ३ करोड कलेक्सनको आसापासमा पुगेको ‘कृ’ ले आजपनि हाउसफुलका साथ शोहरु गरिरहेको छ ।

मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरुमा पनि ‘कृ’ को दबदबा रहेको छ । ‘कृ’ ले प्याडम्यानलाई हलबाटै उर्तान भने सकेन तर पनि प्याडम्यान भन्दा अनमोलको ‘कृ’ निकै रफ्तारका साथ अगाडी बढिरहेको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ मा अनमोलसंगै डेब्यु नायिका अदिती बुढाथोकी, अनुपबिक्रम शाही, कामेश्वर चौरासीया लगायतको अभिनय रहेको छ ।