तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ।

तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकास्थित डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक असोज ११ गतेको बाढीले बगाएको थियो।

नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।

उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मतको काम सडक डिभिजन कार्यालय, तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा स्याङ्जाको सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौतामार्फत गरेको थियो। पुल पुनः सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवनलगायत स्थानमा आवतजावत सहज हुनुका साथै स्थानीय नागरिक, यात्रु तथा मालसामान ढुवानीमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग अवरुद्ध हुँदा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन प्रभावित भएका थिए। गाउँपालिकाका अध्यक्ष थापाले पुल सञ्चालनमा आएसँगै दसैँका बेला नागरिकलाई राहत मिलेको बताए। रासस