विजयपुर । मनसुन अन्ततः नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार १२ दिन ढिलो पूर्ण रूपमा बाहिरिएको हो ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ गते हो । तर, यस वर्ष अक्टोबर १४ अर्थात् असोज २८ गते मात्रै मनसुन बाहिरिएको छ । सरदर १२ दिन ढिलो गरी मनसुन बाहिरिएको विभागले जनाएको छ ।
असोज १७ गतेदेखि मनसुन बहिर्गमन प्रक्रिया सुरु भएको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो ।
मनसुन बाहिरिएसँगै वर्षायामको औपचारिक अन्त्य भएको संकेत देखिए पनि मौसम पूर्ण रूपमा स्थिर भइसकेको भने छैन । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले मौसममा परिवर्तन आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मनसुन बाहिरिएको भन्दै ढुक्क भएर मौसमसम्बन्धी सावधानी नअपनाउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । सर्वसाधारण तथा सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ ।
































