उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो ।

प्रहरीका अनुसार चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।रासस