बलिउड फिल्म ‘पद्मावत’ पश्चात फिल्म ‘मनिकर्णिका’ पनि विवादित भएको छ। अभिनेत्री कंगना रनावतको अभिनय रहेको फिल्मको विरुद्ध सर्व ब्राह्मिण महासभा समूह उत्रिएको छ।

फिल्ममा झाँसीको रानीको ऐतिहास कथा तोडमोड गरेको भन्दै सर्व ब्राह्मिन महासभाले फिल्म निर्माणमा रोक लगाउने चेतावनी दिएको हो। महासभाका सुरेश मिश्रले भने, ‘फिल्मले इतिहासलाई तोडमोड गरेको छ। यो ‘झाँसिकी रानी’को कथामा आधारित छ र यसमा करोडौं खर्चिएको छ। हामीलाई त्यसमा मतलब भएन। यसरी इतिहासलाई तोडमोड गरेर फिल्म बनाउँन दिँदैनौं।’

महासभा समूहले फिल्मको कथा परिकल्पना गरेर लेखिएको र त्यसमा रानी लक्ष्मी बाई र ब्रिटिस अफिसर रोबर्ट इलिसबीच प्रणयको दृश्य भएको उल्लेख गरेको छ। समूहको अनुसार फिल्मको कथा विवादित पुस्तक रानीबाट लिइएको हो। २००८ मा उत्तर प्रदेशमा यो किताबलाई पनि तत्कालीन मायावती सरकारले प्रतिबन्ध गरेको थियो।

फिल्म निर्माण समूहले भने कथामा कुनै तोडमोड नभएको जनाएको छ। फिल्म रानी लक्ष्मीबाई प्रति समर्पित भएको र यदि कसैलाई सन्देह भए फिल्मको स्क्रिप्ट पनि दिने बताएको छ।

क्रिस जगार्लामुडि निर्देशित फिल्ममा कंगना रनावतको प्रमुख भूमिका छ। फिल्ममा कंगनाबाहेक अंकिता लोकन्दे, जिसु सेनगुप्ता, सोनु सुद, अतुल कुलकनी, वैभव लगायतको अभिनय रहेको छ।