लामो समयको विवादपछि प्रदर्शनमा आएको वलिउड चलचित्र ‘पद्मावत’ ले भारत बाहेकका देशमा पनि प्रतिबन्धको सामना गर्नुपरेको छ । मलेसियामा पनि यो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको हो ।

चलचित्रका दृश्यलाई लिएर मलेसियामा रहेका मुसलमानहरुले आपत्ति जनाउन सक्ने र विरोध गर्नसक्ने संभावना भएका कारण मलेसियन सेन्सर बोर्डले चलचित्र प्रदर्शनको अनुमति दिएको छैन । मलेसियाको राष्ट्रिय चलचित्र सेन्सरसिप बोर्ड (एलपीएफ)का अनुसार यस चलचित्रको विषय मलेसियन नागरिकका लागि चिन्ताको विषय बन्न सक्नेछ । मलेसियामा अधिकांश मुस्लिम धर्मावलम्बीहरु बसोवास गर्छन् ।

सुफी कवि मलिक मोहम्मद जायसीद्वारा १५४० मा रचित महाकाव्य पद्मावत मा आधारित चलचित्र ‘पद्मावत’ मा रानी पद्मावतीको सुन्दरताको बयान गरिएको छ । रानीको सुन्दरतामा मुगल शासक अलाउद्दिन खिलजी पागल भएर निकै हिंस्रक र क्रुर भएको कुरालाई चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रमा रणवीर सिंह, दिपीका पादुकोण, साहिद कपुरलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र २५ जनवरीदेखि प्रदर्शन भैरहेको छ ।