काठमाडौं/ पद्मावत विवादका बेलामा सञ्जय लीला भन्सालीले धेरै दुःख सहनुप–यो । उनले थप्पड खाए, उनको सेट जलाइयो, उनी आफ्नै अनि उनका कलाकारहरूको नाक र टाउको काट्ने धम्की दिइयो, उनको फिल्मलाई हलमा नदेखाउने दबाब दिइयो ।

तर विवाद भएपनि फिल्म रिलिज भयो र अहिले फिल्मले एक अर्ब भारुभन्दा बढी कमाइ गरिसकेको छ ।

भन्साली विवादका बेलामा एक योगीजस्तो आफ्नो फिल्म साधनामा मग्न रहे । फिल्मले सकारात्मक प्रतिक्रिया पाएपछि अहिले उनले मौनता तोडेका छन् । उनले पत्रकारहरूसँग भावुक कुराकानी गरे ।

विवादका विषयमा भन्सालीको भनाइ छ :

विवाद कहाँबाट शुरु भयो मलाई थाहा छैन । हल्ला चलेको भरमा ममाथि भौतिक आक्रमण भयो । संसारमा कुनै पनि फिल्म निर्देशकमाथि यस्तो आक्रमण हुँदैन होला । हाम्रो क्यामरा तोडियो, युनिटका मानिसलाई पिटियो, अनि कुटपिट भएपछि मेरी सहायक शैली र अन्य सहायकको हात नीलो भयो ।

खिलजी र पद्मावतीबीच कुनै लभ सिक्वेन्स छ भनेर कसैले हल्ला चलाइदियो । रणवीर र दीपिका नजिकका साथी हुन् भन्दैमा उनीहरूको लभ सिक्वेन्स राख्छु र म रु यो वाहियात हल्ला थियो ।

यही आधारहीन हल्लाको भरमा आन्दोलन गर्न थालियो । उनीहरूको एजेन्डा नै केही छैन तर दिनदिनै राष्ट्रिय च्यानलमा बोल्ने मौका उनीहरूले पाए ।

मैले त हाम्रा पूर्खाको शौर्यगाथा प्रस्तुत गरेको हो । महाराष्ट्रमा बाजीराव मस्तानीलाई रोकिएको भए दर्शकले पेशवाहरूको शौर्यगाथा जान्न पाउने थिएनन् ।

हामीले त भिडियो नै जारी गरेर फिल्ममा आपत्तिजनक केही छैन भनेका थियौं तर कसैले भिडियो बजाइदिएन । एक वर्षसम्म मैले अपमान र यातना सहें अनि जसको शौर्यलाई महिमामण्डित गरें, त्यही राजस्थानले मेरो फिल्म हेरेन ।

मलाई आक्रमण गरिएपछि गहिरो दुःख लाग्यो । यो घटनापछि मलाई एकदमै रिस उठ्यो तर मैले हार मानिनँ । म फिल्म बनाउन छोड्दिनँ । उनीहरूलाई मैले करीयरकै उत्कृष्ट फिल्म बनाएर जवाफ दिएँ । मैले फिल्म र त्यसका पात्रहरूलाई इज्जत दिने गरेको छु ।

स्वरा भास्करले बोल्न चाहेको कुरा बोलिन् । मैले उनको खुलापत्र पढेको छैन, अरूबाट सुनेको छु । मलाई फुर्सद भएपछि पढ्छु र प्रतिक्रिया दिन्छु । उनी खुशी रहून्, उनलाई बोल्ने अधिकार छ ।

एजेन्सी