न्यूयोर्क /कलेज जाँदाजाँदै आफ्नो जीवन रातारात यसरी कायापलट होला भन्ने नेपाल आइडलका बुद्ध लामाले कहिल्यै सोचेका थिएनन् । न त निशान र प्रतापले नै ।
पोखराको महेन्द्र उच्च माबीमा स्नातक पहिलो वर्षको अध्ययन सुरु गरेका लामालाई यति थोरै समयमा नेपालीहरु माझ लोकप्रिय भइएला भन्ने थिएन । सामान्य परिवारमा जन्मिएका बुद्ध आफ्नी दिदीसँगै गीत गाउँदा गाउँदै गायक बनेको बताउँछन् ।
आर्थिक कमजोरीले छेकेन बुद्धलाई
‘परिवारको आर्थिक अवस्था कमजोर भएकाले पनि मैले संगीतको कक्षा लिन पाएको थिइन’, अमेरिका भइरहेको नेपाल आइडलको कन्सर्टबारे पत्रकार सम्मेलनमा उनी भन्दै थिए, ‘आज सबै नेपालीको मायाले म यो ठाउँमा छु ।’
न्यूयोर्क शहरको टाइम्स स्क्वायर पुग्दा नेपाल आइडलको तीनैजनाले आफैँमाथि गर्व गरे । ‘कुनैदिन अमेरिका पुगिएला भन्ने मैले सपनामा पनि सोचेको थिइन । अंग्रेजी र हिन्दी फिल्ममा न्यूयोर्कको टाइम्स स्क्वायर देख्दा यो ठाउँमा कहिले पुगिएला भन्ने चाँहि लाग्थ्यो’, आइडलका फस्ट रनर अप निशान भट्टराईले भने, ‘सपनामा मात्रै देख्ने टाइम्स स्क्वायर आफै पुग्दा कति खुसी भएँ म व्यक्त गर्नै सक्दिन ।’
बाटोमा हिँड्दा सबैले ‘नेपाल आइडलको प्रताप’ भन्दा आफुलाई गर्व लाग्ने बताउँछन् आइडलका सेकेन्ड रनर अप प्रताप दास । ‘नेपाल आइडलमा आउनुअघि हामीलाई कसैले पनि चिन्दैनथ्यो’, उनी भन्दै थिए, ‘अहिले सबैले चिन्छन् । विश्वभर छरिएर बसेका सबै नेपाली हाम्रा फ्यान भइसकेका छन् । यो सबै एपीवान एचडी टेलिभिजनले गर्दा सम्भव भएको हो ।’
यतिबेला नेपाल आइडलको समुह अमेरिका भ्रमणमा ब्यस्त छ । ब्यस्तताले खाने सुत्ने समेत टुङ्गो नभएको गुनासो उनीहरुको थियो । एक वर्षअघि सुरु गरिएको आइडलमा हजारौं बाट छानिएर सन् २०१७ को सेप्टेम्बरमा उनीहरु बिजेता घोषित भएका थिए ।
आइडलमा आवद्ध भएदेखि नै उनीहरुको दैनिकी फेरिएको छ । अहिले उनीहरु पहिलेको जस्तो स्वतन्त्र छैनन् । व्यस्तता यति बढेको छ कि एपीवान एचडीले बनाइदिएको दैनिक कार्यक्रमको तालिका अनुसारै उनीहरुको दिनचर्या बितिरहेको छ ।
पढाई पुरा गर्ने रहर
तीनैजनाले कलेज पढ्दै गर्दा नेपाल आइडलमा आवद्ध भएकाले पढाइ पुरा गर्न नपाएको पनि बताए । निशान काठमाडौस्थित शंकरदेब क्यापसमा स्नातक तेश्रो वर्षमा र प्रताप क्यास्पियन भ्याली कलेजमा स्नातक दोश्रो वर्षमा अध्ययन गरिरहेका छन् ।
कलेज व्यवस्थापनले आफुहरुको समस्या बुझिदिएकाले पनि केही सहज भएको उनीहरुको भनाइ छ । आगामी सन् २०१८ को सेप्टेम्बर पछि मात्रै पढाइ संगसंगै अघि बढाउन सकिने उनीहरु बताउँछन् ।
भविष्यको रेखा कोर्दै
तीनैजना एकजुट भएर भविश्यमा कसरी अघि बढ्नेबारे पनि छलफल गरिरहेका छन् । हालसम्म कतार, दुवई, बेलायत, अष्ट्रेलिया र अमेरिका भ्रमण गरिसकेका उनीहरु जता गएपनि तीनजना संगसंगै छन् । ‘आइडलको पहिलो जस्तै दोश्रो, दोश्रो जस्तै तेश्रो भएकाले पनि हामी तीन अहिले सँगै छौँ’, उनीहरुले एकैस्वरमा भने ।
अमेरिका धेरै फरक
नेपाल बाट सोचेको अमेरिका भन्दा यँहा आइसके पछि पाएको दर्शकको माया, रमाइला ठाउँ र यँहाको विकासले निकै फरक लागेको पनि बताए । धेरै कलाकारहरु आएर अमेरिका बसेपनि उनीहरुको भने आफ्नै देशमा संगीतको विकासका लागि काम सोच छ ।
नेपाल र अमेरिकामा बिभिन्न कार्यक्रम गर्दै आएको केटीएम इन्टरटेन्मेन्टको आयोजनामा उनीहरुलाई अमेरिका भ्रमणमा ल्याइएको हो । टेक्सासस्थित डलासका सुदिप जे ढुंगाना, उज्वल सिंह, रित श्रेष्ठ, न्यूयोर्कका रोकेश गुरुङ र बोस्टनका मुकुन्द पोख्रेलको समुहले नेपाल आइडलको समुहलाई अमेरिकामा सम्म ल्याउने चाँजोपाँजो मिलाएको हो ।
१३ सहरमा कन्सर्ट
उनीहरुले अमेरिकाका बिभिन्न राज्यहरुमा कन्सर्ट गर्नेछन् । दश दिन अघि अमेरिका आएको टोलीले हालसम्म न्यू ह्यामसायर, बोस्टन र सियाटल मा कन्सर्ट गरिसकेको छ भने न्यूयोर्कमा गरी शनिबार राती भइरहेको छ ।
एक महिना भित्र अमेरिकाको १३ वटा शहरमा कन्सर्ट गराइसक्नुपर्ने भएकाले पनि उनीहरुको ब्यस्तता अति बढेको केटीएम इन्टरटेनमेन्टका रोकेश गुरुङले बताए ।
गत जनवरी १९ देखि सुरु भएको कार्यक्रम तालिका फ्रेबुअरीको १७ सम्म चल्नेछ । उनीहरुले जनवरी १९ मा न्यु ह्यामसायर, जनवरी २० मा बोस्टन, जनवरी २१ मा वासिङटनको सियाटलमा आफ्नो प्रस्तुती दिएका थिए ।
जनवरीको २७ मा न्यूयोर्कको कुइन्सस्थित अष्ट्रोरियाको मेलरोज बलरुममा भएको छ । जनवरी २८ बाल्टिमोर, फ्रेबुअरी २ कोलोराडो, फ्रेबुअरी ३ सानआन्टिनियोमा, फ्रेबुअरी ४ बफेलो, फ्रेबुअरी ९ ओहायो, फ्रेबुअरी १० सानफ्रान्सिस्को, फ्रेबुअरी ११ लस एन्जलस, फ्रेबुअरी १६ टेक्सासको डलास, र १७ मा ह्युस्टनमा हुँदैछ ।
न्यूयोर्कको कन्सर्टमा ६० देखि ७५ अमेरिकी डलर बराबरको टिकट बिक्री गरिएको आयोजकले जनाएको छ । कन्सर्टको लागि खर्चिएको टिकट बराबर दर्शक र श्रोताले पूर्ण रुपमा मनोरञ्जन लिने रोकेश गुरुङले जानकारी दिए ।
केटीएम इन्टरटेन्मेन्टले आयोजना गरेको प्रत्येक कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत नेपालको सामाजिक सेवामा लगाइरहेको पनि जानकारी दियो । न्यूयोर्कको कुइन्सको अष्ट्रोरियास्थित मेलरोज बलरुममा आयोजित कन्सर्टको मुख्य आकर्षण भनेकै तीन जना नेपाल आइडलको समुह रहेको पनि उनले बताए ।