धरान/कवि सन्तोष थेवेको ‘फालेलुङ र काबेली बजार’ को दोस्रो संस्करण प्रकाशित भएको छ । दोस्रो सँस्करण प्रकाशनसँगै कृतिमाथि शनिबार धरान–१८ स्थित फुड स्टोरी क्याफेमा चर्चा भएको छ । कवि थेवेको यो कविता संग्रह २०७३ बैसाखमा प्रकाशित भएको थियो । कवि थेवेले दोस्रो प्रकाशनको सन्दर्भ कोट्याउँदै सहकर्मी कवि सुदीप पाख्रिनको प्रेरणामा बजार ल्याउन सफल भएको बताए । संग्रहको ‘साग बेच्ने केटी’ शिर्षकको कविताले निक्कै चर्चा बटुलेको थियो । उक्त शिर्षकको कविता पाठकहरुले अत्यधिक रुचाएको कवि थेवेले बताए । उनी लामो समयसम्म राजधानीमा व्यस्त थिए । कवि पाख्रिनले लिम्बू मिथक, संस्कृतिलाई कविता संग्रहमा अटाउन नसकेको चर्चा गरे । कवि राज माङ्लाकले पनि लिम्बू मिथक, मौलिकता अपेक्ष गरेजस्तो नभएको टिप्पणी गर्दै संग्रहमा सुखदुःखलाई अटाएको बताए । कार्यक्रममा कवि थेवेले संग्रहको साग बेच्ने केटी, सम्झनाको पुरानो रुमाल, सरु शिर्षकका कविता वाचन गरेका थिए । त्यस्तै कवि पत्रकार प्रदीप मेन्याङ्बोले फालेलुङ र काबेली बजार, कवि सुदीप पाख्रिनले अपशकुनको दोबाटो शिर्षकको कविता वाचन गरेका थिए ।